काठमाडौं, चैत २० । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नासम्बन्धी सूचना निकाल्न अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र भर्नाका लागि सूचना तथा कार्यक्रम प्रकाशन गर्न/गराउन आदेश जारी गरेको हो।
अदालतले शिक्षा नियमावली, २०५९ को व्यवस्था विपरीत शैक्षिक सत्र सुरु नहुँदै विभिन्न विद्यालयहरूले भर्ना सूचना प्रकाशन गरेको भन्दै यस्तो अन्तरिम आदेश दिएको हो। आदेशमा विद्यार्थीको वार्षिक परीक्षाफल प्रकाशित नभएको, नयाँ शैक्षिक सत्र सुरु नभएको तथा भर्नाका लागि आवश्यक सक्कल प्रमाणपत्रसमेत प्राप्त नभएको अवस्थामा सूचना निकाल्नु नियम अनुकूल नदेखिएको उल्लेख गरिएको छ।
यसअघि शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले पनि वार्षिक परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन भएपछि मात्र नयाँ शैक्षिक सत्र २०८३ का लागि भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको थियो। सर्वोच्चले सोही व्यवस्था र शिक्षा नियमावलीको मर्मअनुसार एकरूपता कायम गर्न आदेश दिएको हो।
आदेशमा शिक्षा नियमावली, २०५९ को नियम ७८ (१) (ग) अनुसार विद्यार्थी भर्नाका लागि आवश्यक प्रमाणपत्र प्राप्त भएपछि तथा नियम ८४ (४) बमोजिम शैक्षिक सत्र सुरु भएपछि मात्रै भर्ना सूचना र कार्यक्रम सार्वजनिक गर्नुपर्ने स्पष्ट गरिएको छ। अदालतले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्