जनता टाइम्स

२२ चैत्र २०८२, आईतवार ०९:३२

नेपाल आयुर्वेद चिकित्सक संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा शङ्कर गौतम निर्वाचित


काठमाडौं, चैत २२ । नेपाल आयुर्वेद चिकित्सक संघको ११ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको छ। काठमाडौंमा सम्पन्न सम्मेलनले नयाँ कार्यसमिति चयन गर्दै अध्यक्षमा शङ्कर गौतमलाई निर्वाचित गरेको हो।

निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा शङ्कर गौतम १५९ मतसहित विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी सुवर्ण पौडेलले ११४ मत प्राप्त गर्नुभएको छ। यसै पदका अन्य प्रतिस्पर्धी प्रशान्तकुमार सिंहले ३६ र आशिषकुमार झाले ७ मत प्राप्त गर्नुभएको थियो।

यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा रमेश पौडेल १६६ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धीले ९७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।

महिला उपाध्यक्षमा सिर्जना श्रेष्ठ १९० मतसहित विजयी हुनुभएको छ। उहाँकी प्रतिस्पर्धी शान्ति तिमल्सिनाले १२९ मत प्राप्त गर्नुभएको थियो।

महासचिव पदमा ऋषिकेश भुसाल १८७ मत ल्याएर निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी विजेन्द्र साहले १२३ मत प्राप्त गर्नुभएको छ।

सचिव पदमा दीपककुमार मण्डल १६५ मतसहित विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी विवेक गुप्ताले १२७ मत प्राप्त गर्नुभएको थियो।

कोषाध्यक्ष पदमा भने निकै रोचक प्रतिस्पर्धा देखिएको छ। सिजन कोजु र प्रशन्न नेपाल दुवैले समान १५३–१५३ मत प्राप्त गर्नुभएको थियो। बराबरी मत आएपछि गोला प्रथामार्फत गरिएको निर्णयमा सिजन कोजु निर्वाचित हुनुभएको हो भने प्रशन्न नेपाल पराजित हुनुभएको छ।

सम्मेलनबाट चयन भएको नयाँ नेतृत्वले आयुर्वेद चिकित्सा क्षेत्रको पेसागत हकहित, सेवा विस्तार तथा नीतिगत सुधारमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।