जनता टाइम्स

२२ चैत्र २०८२, आईतवार १०:३६

वकिल बमको पक्राउप्रति महेश बस्नेतको आपत्ति, अविलम्ब रिहा गर्न माग


काठमाडौं, चैत २२ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य वकिल बमलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै अविलम्ब रिहा गर्न माग गर्नुभएको छ।

गए राति करिब १० बजे सादा पोशाकमा आएका ४–५ जना प्रहरीले ‘केही समयका लागि’ भन्दै उहाँलाई नियन्त्रणमा लिएर कालिमाटी प्रहरी वृत्तमा राखिएको बस्नेतले जारी गर्नुभएको धारणा पत्रमा उल्लेख छ।

उहाँका अनुसार उक्त समयमा कुनै झैझगडा, उजुरी वा पुरानो मुद्दा नभएको अवस्थामा वकिल बमलाई नियन्त्रणमा लिनु कानुनी शासनको मर्मविपरीत छ। ठमेल क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका कारण मात्रै ‘गुन्डागर्दी’को आरोप लगाएर विनाकारण र विना प्रमाण पक्राउ गर्नु नागरिक स्वतन्त्रतामाथिको प्रहार भएको उहाँको भनाइ छ।

बस्नेतले यस घटनाले राजनीतिक उद्देश्य प्रेरित कार्यशैलीको संकेत गरेको दाबी गर्नुभएको छ। उहाँले कानूनको शासनलाई कमजोर बनाउने यस्ता गतिविधि तत्काल रोक्न सरकार र प्रहरी प्रशासनसँग माग गर्नुभएको छ। उहाँले जारी गर्नुभएको धारणामा भनिएको छ, ‘कुनै प्रमाण र कानुनी आधारबिना व्यक्तिलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक मूल्य र नागरिक अधिकारमाथिको हस्तक्षेप हो।’

एमाले सचिव बस्नेतले वकिल बमलाई तत्काल रिहा गर्न तथा घटनाबारे स्पष्ट जवाफ दिन सम्बन्धित निकायसँग माग गर्नुभएको छ। यस घटनाप्रति राजनीतिक वृत्तमा समेत चासो बढेको छ।