काठमाडौं, भदाै २२। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा दिएको बयानमा जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा आफ्नो प्रत्यक्ष दोष नरहेको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ।
अदालतसमक्ष दिएको बयानमा उहाँले प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश दिने अधिकार वा कानुनी व्यवस्था नरहेको स्पष्ट पार्दै आफूलाई लगाइएका आरोपप्रति आपत्ति जनाउनुभएको छ। उहाँले भन्नुभएको छ, ‘मेरो कुनै दोष छैन, किनकि प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश दिने हुँदैन।’
उहाँले आपतकालीन परिस्थितिमा नेपाली सेनासँग सहयोग माग्दा पनि अपेक्षित समन्वय हुन नसकेको र त्यसै कारण आफू राजीनामा दिनुपर्ने अवस्थामा पुगेको उल्लेख गर्नुभएको छ। ओलीका अनुसार संकटको घडीमा राज्यका निकायबीच आवश्यक सहकार्य हुन नसक्दा स्थिति थप जटिल बनेको थियो।
भीडमा मानिसको मृत्यु भएको खबर सुन्दा आफू स्वयं अचम्मित भएको उल्लेख गर्दै उहाँले घटनाबारे गम्भीर प्रश्न उठाउनुभएको छ। ‘किन र कसरी यस्तो भयो भन्ने गम्भीर प्रश्न उठेको छ,’ उहाँको बयानमा उल्लेख छ।
ओलीले शान्तिपूर्ण आन्दोलन भनिएको अवस्थामा निषेधाज्ञा किन तोडियो र कसरी द्वन्द्वको अवस्था सिर्जना भयो भन्नेबारे गहिरो छानबिन आवश्यक रहेको बताउनुभएको छ। घटनाप्रति दुःख व्यक्त गर्दै दोषी जो–कोही भए पनि उम्किन नहुने उहाँको भनाइ छ।
उहाँले आन्दोलनको सुरुदेखि अन्त्यसम्म संलग्न सबै पक्षमाथि निष्पक्ष कारबाही हुनुपर्ने माग गर्नुभएको छ। राज्यको सम्पत्ति जलाउनेदेखि भीडलाई उत्तेजित पार्ने व्यक्तिसम्म सबैमाथि कानुनअनुसार अनुसन्धान र कारबाही गर्नुपर्ने उहाँको जोड छ।
बयानमा ओलीले राष्ट्रको हितमा बोलेको र काम गरेको कारण विभिन्न स्वार्थ समूहबाट आफूले अनावश्यक आरोप खेप्नुपरेको दाबी पनि गर्नुभएको छ। उहाँले आफूविरुद्ध लगाइएका आरोपलाई राजनीतिक प्रेरित भएको संकेत गर्नुभएको छ।
अदालतमा दिएको यो बयानलाई पछिल्लो राजनीतिक घटनाक्रमको महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्