जनता टाइम्स

२२ चैत्र २०८२, आईतवार १९:४५

ओली र लेखकको म्याद ५ दिन थपियो, अदालतद्वारा अनुसन्धानका लागि अनुमति


काठमाडौं, चैत २२ । जेन–जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका नेकपा (एमाले) अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद ५ दिन थपिएको छ।

काठमाडौं जिल्ला अदालतले अनुसन्धानलाई निरन्तरता दिन प्रहरीको मागअनुसार थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो। प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि माग गरेको म्याद सकिएपछि पुनः अदालतसमक्ष म्याद थपको निवेदन दिएको थियो।

यसअघि पनि अदालतले दुवै नेतालाई अनुसन्धानका लागि ५ दिन र त्यस पछि २ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। जेन–जी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उहाँहरूलाई पक्राउ गरिएको हो।

आयोगले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएको घटनाको जिम्मेवारी तत्कालीन सरकार नेतृत्व र गृह प्रशासनमाथि औंल्याउँदै थप फौजदारी अनुसन्धानको सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार प्रहरीले बयान, प्रमाण संकलन र घटनासँग सम्बन्धित विवरण जुटाउने काम गरिरहेको जनाएको छ।