जनता टाइम्स

२२ चैत्र २०८२, आईतवार २०:४६

फेवाताल किनारको २० रोपनी जग्गाबारे सत्यतथ्य सार्वजनिक गर्न गृहमन्त्री सुधन गुरुङलाई  हर्क साम्पाङको आग्रह


काठमाडौं, चैत २२ । राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले गृहमन्त्री सुधन गुरुङलाई फेवाताल किनारमा २० रोपनी जग्गा रहेको भन्ने समाचारबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उहाँले गृहमन्त्री गुरुङको नाममा फेवाताल किनारमा २० रोपनी जग्गा रहेको भन्ने समाचार बाहिरिएको उल्लेख गर्दै त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने बताउनुभएको हो। साम्पाङले भन्नुभएको छ, ‘गृहमन्त्रीज्यू, सामाजिक सञ्जालभरि तपाईँको नाममा २० रोपनी जग्गा फेवातालको किनारमा भेटियो भन्दै समाचार बाहिरिएको छ। कुरा के हो, सत्यतथ्य स्पष्ट पारिदिनुपर्‍यो।’

उहाँले यदि उक्त समाचार भ्रामक वा गलत सावित भएमा त्यस प्रकारको हल्ला फैलाउने व्यक्तिहरूमाथि कडा अनुसन्धान हुनुपर्ने पनि बताउनुभएको छ। ‘भ्रामक समाचार रहेछ भने यो हल्ला फैलाउनेको जरासम्म गएर अनुसन्धानमा तान्नुपर्‍यो,’ उहाँको भनाइ छ।

फेवाताल संरक्षण, अतिक्रमण र अवैध जग्गा दर्तासम्बन्धी विषय पछिल्ला दिनमा राष्ट्रिय बहसको विषय बनेको छ। यसै सन्दर्भमा गृहमन्त्रीसँग जोडिएको भनिएको समाचार सार्वजनिक भएपछि त्यसबारे स्पष्टता दिनुपर्ने दबाब बढ्दै गएको छ।