जनता टाइम्स

२३ चैत्र २०८२, सोमबार १०:५१

अबदेखि शुक्रवार पनि शेयर कारोबार हुने, नेप्से सञ्चालक समितिले गर्यो निर्णय


काठमाडौं, चैत २३ । अवदेखि शुक्रवार पनि शेयर कारोबार खुल्ला हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिले शुक्रवार शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ ।

बालेन सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सो दिन नेप्से बन्द गरेर शुक्रवार कारोबार खोल्ने निर्णय नेप्से सञ्चालक समिति बैठकले गरेको हो । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले आइतबारको सट्टा शुक्रवार कारोबार खोल्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

‘सरकारले आइतबार बिदा दिने निर्णय गरेपछि यसदिन शेयर कारोबार पनि बन्द हुन्छ । जसले गर्दा शुक्रवार कारोबार खोल्ने निर्णय भएको छ,’ पराजुलीले भन्नुभयो । यसअघि शुक्रवार शेयर कारोबार बन्द हुने गरेको थियो । साताको पाँच दिन आइतबारदेखि बिहीबारसम्म शेयर कारोबार हुँदै आएकोमा अब सोमबारदेखि शुक्रवारसम्म कारोबार हुने भएको छ ।

बालेन सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको यो निर्णयपछि नेप्सेले आइतवारको साटो शुक्रवार खोल्ने निर्णय गरेको हो ।