काठमाडौं, चैत २३ । प्रतिनिधि सभा सदस्य युवराज दुलालले सरकारले प्राप्त समय र अवसरको सदुपयोग गर्दै परिणाममुखी काममा केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको छ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारलाई समय खेर नफाली प्रत्यक्ष रूपमा कार्यान्वयनमा जान आग्रह गर्नुभएको हो। ‘सरकार एक्सनमा जाओस्, तर सरकारले स्टन्ट गरेर समय बर्बाद नगरोस्,’ उहाँले भन्नुभयो।
सांसद दुलालले राज्यको महत्वपूर्ण समय परीक्षण, प्रदर्शन र राजनीतिक स्टन्टमा खर्च गरिए त्यसले विशेषगरी नवयुवाहरूको भावना र अपेक्षालाई सम्बोधन गर्न नसक्ने चेतावनी दिनुभएको छ। युवापुस्ताले परिणाममुखी शासन र ठोस परिवर्तनको अपेक्षा गरेको उल्लेख गर्दै उहाँले सरकारलाई कामबाट विश्वास जित्नुपर्नेमा जोड दिनुभयो।
उहाँले विगतमा राज्यद्वारा विभेदमा पारिएका वर्ग तथा समुदाय, विशेषगरी दलित समुदायसँग सरकारले माफी मागेको विषयलाई सकारात्मक कदमका रूपमा लिनुभएको छ। यसले राज्यले ऐतिहासिक अन्यायप्रति जिम्मेवारीबोध गरेको सन्देश दिएको उहाँको भनाइ छ।
सांसद दुलालले उत्पीडित र पछाडि पारिएका वर्गलाई अधिकार सुनिश्चित गर्ने उद्देश्यले संविधान निर्माण गरिएको स्मरण गराउँदै त्यसको वास्तविक कार्यान्वयनबाट मात्रै समाजमा समानता र न्याय स्थापित हुने बताउनुभयो। ‘संविधानको असली कार्यान्वयनले मात्र समाजमा समानता ल्याउँछ,’ उहाँले भन्नुभयो।
उहाँको भनाइलाई संसदमा सरकारको कार्यशैली, सुशासन र समावेशी राज्य व्यवस्थामाथिको बहससँग जोडेर हेरिएको छ। विशेषगरी युवा र सीमान्तकृत समुदायको विश्वास कायम राख्न सरकार परिणाममुखी हुनुपर्ने सन्देश उहाँको अभिव्यक्तिमा स्पष्ट देखिएको छ।













प्रतिक्रिया दिनुहोस्