काठमाडौं, चैत २३ । प्रतिनिधि सभा सदस्य मनिषकुमार झाले संसद्मा सत्ता पक्ष संख्यात्मक रूपमा बलियो हुँदैमा दम्भ देखाउन नहुने बताउँदै संसदीय संस्कार, सिद्धान्त र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको छ।
आइतबार प्रतिनिधि सभाको बैठककाे विशेष समयमा बोल्दै उहाँले लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन सबै दलको समान योगदान आवश्यक रहेको उल्लेख गर्नुभयो। ‘सत्ता पक्ष बलियो हुँदा दम्भ देखाउनु हुँदैन, यहाँ संस्कार, संस्कृति र सिद्धान्त देखिनुपर्छ,’ उहाँले भन्नुभयो।
प्रवक्ता झाले मतदातासमक्ष दक्षिण एसियाकै सफल संसद्को परिकल्पना प्रस्तुत गरिएको स्मरण गराउँदै अब त्यसलाई व्यवहारमा उतार्ने समय आएको बताउनुभयो। संसद् केवल संख्याको खेलमा सीमित नहुने र सिद्धान्त, बहस तथा जनताको आवाजको केन्द्र बन्नुपर्ने उहाँको जोड थियो।
उहाँले विगतमा संसद् खुमलटार, बुढानिलकण्ठ, बालकोट र बालुवाटार जस्ता शक्ति केन्द्रहरूको प्रभावमा मात्र सीमित भएको संकेत गर्दै अब त्यस्तो अभ्यास दोहोरिन नहुने धारणा व्यक्त गर्नुभयो। ‘यसअघि सदन संख्या गन्ने थलोमा सीमित भयो, सिद्धान्त र मूल्यमा जान सकेन, अब त्यो दोहोरिनु हुँदैन,’ उहाँले बताउनुभयो।
सदनको गरिमामाथि जोड दिँदै उहाँले संसद् कुनै चिया पसल वा चौतारीजस्तो स्थान नभएको स्पष्ट पार्नुभयो। मन लागे आउने, मन लाग्दा बस्ने र नत्र बाहिरिने प्रवृत्तिले संसदीय मर्यादामाथि आघात पुग्ने उहाँको भनाइ थियो।
उहाँले संसद्लाई गुरुकुल र विश्वविद्यालयको रूपमा लिनुपर्ने बताउँदै यही थलोबाट नीति, बहस र जनताको आकांक्षा आकार लिने धारणा राख्नुभयो।
साथै, संसद्ले जनताको प्रश्न र आवाजलाई सम्बोधन गर्न नसके स्थिति गम्भीर बन्न सक्ने चेतावनी पनि उहाँले दिनुभयो। ‘यदि सदनमा जनताको प्रश्नको अस्तित्व भएन भने जनता स्वयं सदनमै प्रवेश गर्छन्, जुन गत भदौमा देखियो,’ उहाँले भन्नुभयो।
उहाँले संसद्को प्रभावकारिता, जनप्रतिनिधिको जिम्मेवारी र लोकतान्त्रिक संस्थामाथिको विश्वाससँग जोडिएकाे बताउनुभयो।













प्रतिक्रिया दिनुहोस्