काठमाडौं, चैत २३ । प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले संसद्को मूल आत्मा प्रतिपक्षको भूमिकाबाट बलियो हुने बताउँदै सदनलाई सत्ता पक्षको प्रभावबाट मुक्त राख्न आग्रह गर्नुभएको छ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले संख्यात्मक रूपमा सत्ता पक्ष जति नै बलियो भए पनि लोकतान्त्रिक सन्तुलनका लागि सदन प्रतिपक्षमै केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो। उहाँले सभामुखलाई सदनको स्वतन्त्रता र निष्पक्षता सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गर्नुभएको हो। ‘सत्तापक्षको संख्या जति नै ठूलो भए पनि सदन विपक्षको हो,’ उहाँले स्पष्ट रूपमा भन्नुभयो।
सांसद केसीले प्रतिपक्षको भूमिकालाई ‘आगोको झिल्को’ सँग तुलना गर्दै संख्यामा सानो भए पनि त्यसको प्रभाव र महत्व कहिल्यै कम नहुने बताउनुभयो। ‘आगोको झिल्को जतिसुकै सानो भए पनि त्यो आगाकै झिल्को हुन्छ,’ उहाँले भन्नुभयो।
उहाँको भनाइले संसद्मा संख्यात्मक बहुमतभन्दा लोकतान्त्रिक बहस, प्रश्न र निगरानीको भूमिकालाई बढी महत्व दिनुपर्ने सन्देश दिएको छ। उहाँले विगतका संसदीय अभ्यासका उदाहरण प्रस्तुत गर्दै संसद्लाई केवल सत्ता पक्षको निर्णय अनुमोदन गर्ने थलोमा सीमित गर्न नहुने धारणा राख्नुभयो। लोकतन्त्रमा प्रतिपक्षले सरकारलाई जवाफदेही बनाउने मुख्य भूमिका खेल्ने भएकाले सदनमा त्यो भूमिका सुरक्षित हुनुपर्ने उहाँको जोड थियो।
साथै, सांसद केसीले सदन कुनै दल, नेता वा शक्ति केन्द्रको ‘बन्दी’ बन्न नहुने उल्लेख गर्दै स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण गर्न सभामुखको सक्रिय भूमिकाको आवश्यकता औंल्याउनुभयो। ‘सदन कसैको बन्दी हुनु हुँदैन,’ उहाँले भन्नुभयो, ‘यसलाई स्वतन्त्र र सन्तुलित रूपमा सञ्चालन गर्ने वातावरण बनाइनुपर्छ।’
उहाँको अभिव्यक्तिलाई संसद्को स्वतन्त्रता, प्रतिपक्षको भूमिका र लोकतान्त्रिक सन्तुलनमाथिको महत्त्वपूर्ण टिप्पणीका रूपमा हेरिएको छ। विशेषगरी पछिल्ला संसदीय बहसमा सत्ता–प्रतिपक्ष सम्बन्ध चर्किरहेका बेला उहाँको भनाइले थप राजनीतिक अर्थ पाएको छ।













प्रतिक्रिया दिनुहोस्