जनता टाइम्स

२४ चैत्र २०८२, मंगलवार १५:१५

रास्वपा सांसद खगेन्द्र सुनारले सदनमै झुटो बोलेको प्रमाणित, गल्ती भयो भन्दै माफी माग्दा पनि सभामुख डिपीले निभाए ‘तटस्थ’ भूमिका


काठमाडौं, चैत २४ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारले संसद बैठकमा पहिलो पटक बोल्दा नै झूटो बोलेको तथ्य खुलेको छ । सुनारले कालिकोट जिल्लामा हुँदै नभएको घटनालाई धमाकेदार रुपमा प्रस्तुत गरेर अफवाह फैलाएको तथ्य अर्का सांसदले खोलेका हुन ।

सच्चाइ राखेपछि सांसद सुनारले माफी माग्नुभएको छ । कांग्रेसका समानुपातिक सांसद कालीबहादुर सहकारीले सुनारको अभिव्यक्ति सफेद झुट भएको तथ्यसहित संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सहकारीले यस्तो माग गर्नुभएको हो ।

रास्वपा सांसद सुनारले सोमवारको बैठकमा बोल्ने क्रममा देशका विभिन्न भागमा दलितहरूमाथि भएका विभेदका घटनाको फेहरिस्त प्रस्तुत गर्दै कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ५ मा मना सार्की नामका जनप्रतिनिधिले धारा छोएको निहुँमा हत्या गरिएको बताउनु भएको थियो । तर उहाँको सो दाबी असत्य भएको देखिएको छ । कांग्रेस सांसद सहकारीले आजको बैठकमा सो वडामा दलित नै नरहेको बताउनु भयो ।

‘यो सदनमा जे पनि बोल्न छुट हो कि यथार्थ कुरा बोल्ने हो, म साह्रै आश्चर्यचकित छु । कालिकोटको नरहरिनाथ–५ मेरै जन्मस्थानको वडा हो । त्यहाँ सहकारी र बोगटीको ९५ प्रतिशत र बाँकी ५ प्रतिशत अन्य क्षेत्री जातिकै मानिसहरू छन् । दलितको उपस्थिति शून्य छ । उहाँ (सुनार) ले यो कुरा कसरी सदनमा ल्याउनुभयो ? यसमा मेरो घोर आपत्ति छ,’ बैठकमा सहकारीले भन्नुभयो ।

सहकारीले सुनारको अभिव्यक्ति झुटो रहेकोले सदनको रेकर्डबाट हटाउन माग पनि गर्नुभयो । तर सभामुख डीपी अर्यालले यस बिषयमा सत्तारुढ आफ्नै दलको सांसदले झुट बोलेको कारण कुनै रेस्पोन्स गर्नुभएन । सभामुख डिपी अर्यालले रास्वपा सांसदले जे गर्दा पनि केही नगर्ने ‘तटस्थ’ नीति अबलम्बन गर्दै रेकडबाट हटाउने मागमा रेस्पोन्स नगर्नुभएको हो ।

सभामुख कानमा तेल हालेर बसेपनि सांसद सुनारले भने माफी माग्नुपरेको छ । रास्वपा सांसद सुनारले आफूले बोलेको कुरामा विवाद आएपछि वैठकमै स्पष्टीकरणसहित माफी माग्नुभएको हो । सुनारले सो घटना वडा नम्बर ५ मा नभएर ९ नम्बरमा घटना भएको तर भुलवस वडा नम्बर ५ बोलिएको प्रष्टिकरण दिनुभएको छ । आफूले बोल्दा वडा नम्बर फरक पर्न गएको भन्दै सुनारले माफी माग्नुभएको हो । बोल्ने ब्यक्तिले नै माफी माग्दासमेत सभामुखले रेकर्डबाट हटाउन निर्देशन नदिनुभएको हो ।