जनता टाइम्स

२५ चैत्र २०८२, बुधबार ०८:१०

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री शाहद्वारा दुई वार्षिक प्रतिवेदन पेस गर्दै


काठमाडौ, चैत २५। सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक आज दिउँसाे १ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।

यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ । त्यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सभामुखबाट राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम समेत रहेको छ ।

यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । सो बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ को आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने कार्यक्रम रहेको छ ।