जनता टाइम्स

२५ चैत्र २०८२, बुधबार ०८:३०

पाकिस्तानको मध्यस्थतामा अमेरिका–इरानबीच दुई साताको युद्धविराम, होर्मुज जलघाँटी खाेल्ने सहमति


काठमाडौं,चैत २५ । पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरान दुई साताका लागि युद्धविराममा सहमत भएका छन् । दुवै पक्षबीच भएको सहमतिअनुसार तत्काल प्रभावबाट दुई हप्ते युद्धविराम लागू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकाका राष्ट्रपति डाेनाल्ड ट्रम्पले पाकिस्तानको नेतृत्वसँग भएको वार्तापछि इरानले होर्मुज जलघाँटीबाट जहाजहरूको सुरक्षित आवागमन अनुमति दिन सहमति जनाएसँगै युद्धविराम लागू भएको बताउनुभएको छ । उहाँले इरानमाथि हुने बमबारी तथा आक्रमण दुई हप्ताका लागि स्थगित गर्न सहमति भएको उल्लेख गर्नुभएको छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत दुवै पक्ष युद्धविराममा सहमत भएको जानकारी दिँदै यसलाई ‘द्विपक्षीय युद्धविराम’ को संज्ञा दिनुभएको छ । इरानमाथि ‘विनाशकारी आक्रमण’ गर्ने उहाँको तय समयसीमा नेपाली समयअनुसार बुधबार बिहान ५ः४५ बजे सकिन लागेका बेला पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले युद्धविराम तत्काल प्रभावबाट लागू भएको घोषणा गर्नुभएको थियो ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि उक्त युद्धविराम सम्झौताको पुष्टि गरेको छ । इरानी समाचार संस्था मेहरद्वारा प्रकाशित वक्तव्यमा पाकिस्तानको मध्यस्थतामा भएको दुई हप्ते युद्धविरामलाई औपचारिक रूपमा स्वीकार गरिएको जनाइएको छ ।

वक्तव्यअनुसार, इरानका नयाँ सर्वोच्च नेतृत्त्व मोज्तबा खामेनीको स्वीकृतिमा उक्त सम्झौता सम्पन्न भएको बताइएको छ । साथै, यसलाई ‘इरानका लागि विजय’ को रूपमा व्याख्या गर्दै स्थायी शान्ति सम्झौताका लागि आगामी वार्ता पाकिस्तानको राजधानी इस्लामाबादमा हुने उल्लेख गरिएको छ ।

यस युद्धविरामले पछिल्ला दिनहरूमा तीव्र बन्दै गएको अमेरिका–इरान तनावलाई केही समयका लागि शान्त बनाउने अपेक्षा गरिएको छ भने विश्व ऊर्जा बजारमा समेत यसको सकारात्मक प्रभाव पर्ने विश्लेषण गरिएको छ, किनकि होर्मुज जलघाँटी विश्व तेल आपूर्तिको अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ ।