अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम घोषणा भएको छ । पाकिस्तानको मध्यस्थतामा दुई देशबीच जारी ६ साता लामो युद्ध दुई साताका लागि बिराम भएको हो । यो सहमतिसँगै गत फेब्रुअरी २८ देखि जारी युद्ध झन्डै ६ हप्तापछि रोकिएको छ ।
इरानलाई बुधबार बिहानसम्ममा ध्वस्त् बनाइदिने चेतावनी दिनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल्टिमेटम सकिएलगत्तै युद्धविरामका लागि तयार रहेको बताउनु भएको थियो । निकै ठूलो क्षतीपछि आफ्नै देशमा बिरोध बढेको कारण राष्ट्रपति ट्रम्प युद्धबिरामका लागि तयार बन्नुभएको हो । इरानी पक्षबाट पनि ग्रीन सिग्नल आएपछि केही घण्टाअघि मात्र दुई साताका लागि युद्धविराम घोषणा भएको छ ।
ट्रम्पले स्ट्रेट अफ हर्मुज खुला गर्नुपर्ने सर्त राख्नुभएको थियो । जवाफमा इरानले पनि आफ्नो भूमिमा आक्रमण नभएको खण्डमा हर्मुज खुला हुने बताएको छ । ट्रम्पले इरानमाथि अमेरिकी सैन्य उद्धेश्य पूरा भइसकेकाले पनि युद्धविराममा आफू सहमत भएको बताउनु भएको छ ।
’हामीले हाम्रो सबै सैन्य उद्देश्य पूरा गरिसकेका छौं र इरानसँग दीर्घकालीन शान्ति सम्झौतामा धेरै अघि बढिसकेका छौं। इरानबाट आएको १० बुँदे प्रस्ताव वार्ताका लागि व्यवहारिक आधार हो। विगतका अधिकांश विवादित विषयमा सहमति भइसकेको छ, र दुई साताको अवधि अन्तिम सम्झौता टुंग्याउन पर्याप्त हुनेछ,’ ट्रम्पले ट्रुथ सोसलमा लेख्नुभएको छ ।
ट्रम्पले सहमतिमा नआए इरानको इतिहास नै समाप्त पार्नेगरी आक्रमण गर्ने भनेर दिएको चेतावनीले पछिल्लो १२ घण्टा विश्वलाई सशंकित तुल्याएको थियो। पाकिस्तान, इजिप्ट र टर्कीले अगाडिदेखि नै अमेरिका र इरानबीच युद्धविरामको प्रयत्न गर्दै आइरहेका थिए । आजको युद्धविरामको मुख्य पहल भने पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले गर्नुभएको हो । ट्रम्पले दिएको अल्टिमेटम सकिन १० मिनेटअगाडि प्रधानमन्त्री शरिफले युद्धविराम भएको घोषणा गर्नुभएको थियो ।
युद्धबिरामका लागि खेलेको उल्लेखनीय कामका लागि अमेरिका र इरान दुवैले प्रधानमन्त्री शरिफको भूमिकाको प्रशंसा गरेका छन्। ’पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ र फिल्ड मार्शल असिम मुनिरसँगको वार्तापछि, उनीहरूले आज राति इरानमाथि पठाइँदै गरेको विनाशकारी सैन्य कारबाही रोक्न अनुरोध गरेका कारण इरान स्ट्रेट अफ हर्मुज तुरुन्त, पूर्ण र सुरक्षित रूपमा खोल्न सहमत हुन्छ भने म दुई साताका लागि आक्रमण स्थगित गर्न तयार छु। यो दुवै पक्षबाट लागू हुने युद्धविराम हुनेछ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभएको छ ।
इरानी विदेशमन्त्री अब्बास अराग्चीले पनि विज्ञप्ती जारी गरी इरानी जनतालाई बधाई भन्दै प्रधानमन्त्री शरिफलाई धन्यवाद दिनुभएको छ । युद्धविराम घोषणापछि दुवै पक्षबीच शुक्रबार थप छलफल हुने तयारी छ । पहलकर्ता प्रधानमन्त्री शरिफले दुवै पक्षलाई इस्लामावादमा निम्तो गरिएको जानकारी दिनुभएको छ । यद्यपि दुवै पक्षबाट वार्तामा बस्ने विषयमा भने कुनै पनि धारणा सार्वजनिक भएको छैन।
युद्धविरामलाई लिएर दुवै पक्षले आ-आफ्नो जित दाबी गरेका छन्। ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प र अमेरिकी सेनाको महत्वपूर्ण उपलब्धी भनेको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले ३८ दिनमै अमेरिकाले आफ्ना प्रमुख सैन्य लक्ष्यहरू हासिल मात्र नभई अपेक्षाभन्दा बढी सफलता पाएको बताउनु भयो ।
’हाम्रो सैन्य सफलताले अधिकतम दबाब सिर्जना गर्यो, जसले राष्ट्रपति ट्रम्प र उनको टोलीलाई कडा वार्तामा उत्रन सक्षम बनायो। त्यसैबाट कूटनीतिक समाधान र दीर्घकालीन शान्तिको अवसर खुलेको हो,’ लेभिटले वक्तव्यमा भन्नुभएको छ, ’राष्ट्रपति ट्रम्प हर्मुज पुनः खुलाउन पनि सफल हुनुभयो ।’

यता इरानको सर्वोच्च सुरक्षा परिषदले पनि युद्धमा हार भएर पछि हटेको नभई सैन्य उद्धेश्यहरू पूरा भएका कारण युद्धविराम गरिएको बताएको छ । ’युद्धका लगभग सबै लक्ष्य हासिल भइसकेका छन, त्यसैले अब दुई साताको युद्धविराममा सहमति जनाइएको हो। युद्धभूमिमा प्राप्त विजयलाई राजनीतिक वार्तामार्फत सुदृढ पार्न इस्लामावादमा वार्ता गर्ने निर्णय गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ।
युद्धको अर्को मुख्य पक्ष इजराइलले भने युद्धबिराममा आफ्नो संलगनता नरहेको बताएको छ । मध्यस्थता गरेका प्रधानमन्त्री शरिफ र इरानी पक्षले युद्धविराम यसमा संलग्न सबै पक्षबीच भएको घोषणा गरे पनि इजराइलले संलगनता नरहेको बताएको हो । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार युद्धको मुख्य पक्ष भए पनि युद्धविराम सम्झौताको सूचना अन्तिम समयमा मात्रै इसराइललाई दिइएको थियो। त्यसकारण इसराइल युद्धविराममा संलग्नता नरहेको तर अमेकिरी निर्णयमा समर्थन रहेको बताएको छ ।
अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौतामा आफ्नो देशको धारणा सार्वजनिक गर्दै इजराइली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको कार्यालयले दुई साता आक्रमण नगर्ने अमेरिकाको निर्णयलाई समर्थन गरेको छ । तर युद्धविराममा लेबनन नसमेटिने उसले स्पष्ट पारेको छ ।
’इसराइलले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानमाथिको आक्रमण दुई हप्ताका लागि रोक्ने निर्णयलाई समर्थन गर्दछ। युद्धविरामको सर्त इरानले तुरुन्तै जलमार्ग खोल्नु र अमेरिका, इसराइल तथा क्षेत्रका देशहरूविरुद्धका सबै आक्रमण बन्द गर्नु हो,’ नेतन्याहूको कार्यालयले भनेको छ, ’ यो दुई हप्ते युद्धविराममा लेबनान समावेश छैन।’
युद्धविराम लागू हुनका लागि तत्काल हर्मुज खुला गर्नुपर्ने र अमेरिका, इसराइल तथा क्षेत्रीय देशहरूविरुद्धका सबै आक्रमण बन्द गर्नुपर्ने उस्को सर्त छ। तर, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले भने उक्त सहमतिमा लेबनन पनि समावेश रहेको बताउनु भएको छ । यस विषयमा अमेरिकाले आधिकारिक स्पष्टिकरण दिएको छैन ।
यता युद्धविराम घोषणा भएपछि पनि इजराइलले लेबननमा हमला गरेको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेसले जनाएको छ । फेब्रुअरी २८ मा इसराइल र अमेरिकाले इरानमा हमला गरी त्यहाँका सर्वोंच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेपछि लेबननबाट हिजबुल्लाहले इजराइलमा हमला गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्