जनता टाइम्स

२५ चैत्र २०८२, बुधबार १२:२०

संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलको पहिलो बैठक आज, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने


काठमाडौं, चैत २५। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ ।

चैत १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री बालेन साहका प्रमुख राजनीतिक सल्लाहकार असीम साहको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको थियो । कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी गराइएको छ ।

कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अधिवक्ता मोहनलाल आचार्य, नेपाली कांग्रेसबाट मोहन आचार्य, नेकपा (एमाले) बाट संविधानसभा सदस्य डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट संविधानसभा सदस्य तथा पूर्वकानुनमन्त्री देव गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही तथा राष्ट्रिय जनमोर्चाबाट महासचिव मनोज भट्ट सदस्य रहनुभएको छ ।

यद्यपि, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी नेपाल तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले हालसम्म कार्यदलका लागि आफ्नो प्रतिनिधिको नाम टुङ्गो लगाएर पठाएका छैनन् ।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्यका रूपमा रहनुभएको छ । कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहनुभएको छ ।

कार्यदलको आजको पहिलो बैठकले संविधान संशोधनसम्बन्धी बहसको रूपरेखा, कार्यविधि तथा आगामी कार्ययोजना तय गर्ने अपेक्षा गरिएको छ । राजनीतिक सहमति र बहुदलीय सहभागितासहित गठन गरिएको यस कार्यदललाई संविधान संशोधनको प्रारम्भिक बहसलाई संस्थागत रूप दिने महत्वपूर्ण संयन्त्रका रूपमा हेरिएको छ ।