जनता टाइम्स

२५ चैत्र २०८२, बुधबार १३:२७

कानुन व्यवसायीलाई सिंहदरबार प्रवेश सहज बनाउन सांसद सुहाङ नेम्वाङको प्रधानमन्त्रीलाई आग्रह


काठमाडौं, चैत २५। प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले कानुन व्यवसायीहरूलाई सिंहदरबार परिसरमा सहज प्रवेशको व्यवस्था मिलाउन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारलाई सम्बोधन गर्दै उहाँले कानुन व्यवसायीलाई नेपाल बार काउन्सिलबाट जारी गरिएको परिचयपत्रका आधारमा सहज प्रवेशको सुविधा तत्काल सुनिश्चित गर्न आवश्यक नीतिगत तथा प्रशासनिक व्यवस्था मिलाइदिन अनुरोध गर्नुभएको हो ।

नेम्वाङले सिंहदरबार परिसरस्थित प्रशासकीय अदालतले चैत २४ गते प्रकाशित गरेको सूचनामा कानुन व्यवसायीलाई नागरिक एपमा आधारित सिंहदरबार पासको व्यवस्था गरिएको उल्लेख भए पनि विभिन्न सञ्चारमाध्यममा प्रवेशमा कडाइ गरिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले कुनै पनि नेपाली नागरिकलाई आफ्नो मुद्दामा प्रतिनिधित्व गर्न वा प्रशासनिक कामकाजका लागि कानुन व्यवसायी नियुक्त गर्न पाउने संवैधानिक अधिकार रहेको उल्लेख गर्दै सिंहदरबार परिसरभित्र रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, प्रशासनिक निकाय तथा प्रशासकीय अदालतमा कानुनी प्रतिनिधित्वको पहुँच सहज हुनुपर्नेमा जोड दिनुभएको छ ।

पत्रमा अदालतबाट नेपाल सरकार तथा विभिन्न मन्त्रालयका नाममा जारी आदेश र फैसलाको कार्यान्वयनका क्रममा मन्त्रालयहरूसँग कानुन व्यवसायीहरूको प्रत्यक्ष सम्पर्क र सहज पहुँच आवश्यक पर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी, सिंहदरबारभित्र रहेका विभिन्न सरकारी निकाय तथा संसदीय दलका कार्यालयहरूले समेत कानुनी परामर्शका लागि कानुन व्यवसायी नियुक्त गर्ने प्रचलन रहेको जनाउँदै उहाँले कानुन व्यवसायीहरूको व्यावसायिक भूमिकालाई दृष्टिगत गरी पुरानै व्यवस्था कायम राख्न आग्रह गर्नुभएको छ ।

उक्त पत्रको बोधार्थ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई समेत पठाइएको छ ।