काठमाडौं, चैत २५ । प्रतिनिधि सभामा नेकपा (एमाले) की सांसद टुकाभद्र हमालले प्रधानमन्त्री बालेन्द्र साहले प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूबिच विभेद गरेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीले सांसदहरूसँग छलफल गर्दा प्रत्यक्ष निर्वाचित सांसदहरूलाई मात्र बोलाएको भन्दै आपत्ति जनाउनुभएको हो । ‘प्रत्यक्ष निर्वाचित सांसदहरूलाई भेटेर विकास निर्माणका विषयमा कुरा राख्ने अवसर दिनुभएको भन्ने सुन्नमा आएको छ, तर समानुपातिकतर्फबाट आउनुभएका सांसदहरूलाई त्यो अवसरबाट किन वञ्चित गरियो ?’ उहाँले प्रश्न गर्नुभयो ।
सांसद हमालले संसद्का सबै सदस्यहरू जनप्रतिनिधि भएकाले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट निर्वाचित सांसदहरूलाई समान व्यवहार गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै त्यसप्रति पनि आपत्ति जनाउनुभयो । हमालले दुवै नेताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्