काठमाडौं, चैत २५ । प्रतिनिधिसभा सदस्य महावीर पुनले नातावाद, कृपावाद, चाकरीवाद र चाप्लुसीवादलाई देशका ‘भाइरस’ भएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नेपाल एकीकरणपछिको राजनीतिक इतिहासदेखि नै यस्ता प्रवृत्ति कायम रहेको उल्लेख गर्नुभयो । उहाँले रणबहादुर शाह राजा भएयता यो समस्या विभिन्न रूपमै निरन्तर रहेको धारणा राख्नुभयो । ‘अहिलेको नयाँ सरकार र सांसदहरूले यो भाइरसबाट मुक्त हुने प्रयास गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
सांसद पुनले सरकार र जनप्रतिनिधिहरूले आफ्ना नातागोता तथा निकट व्यक्तिहरूलाई लाभको पदमा राखेको भन्ने कुरा सुन्न नपरोस् भन्नेमा जोड दिनुभयो । उहाँले सुशासन, पारदर्शिता र योग्यताका आधारमा नियुक्ति तथा जिम्मेवारी बाँडफाँट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले देशको अर्थतन्त्रको दिगो विकासका लागि विज्ञान र प्रविधिलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । अनुसन्धान, नवप्रवर्तन र प्रविधिमैत्री विकासलाई संस्थागत गर्न छुट्टै मन्त्रालय गठन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्