काठमाडौं, चैत २५ । प्रतिनिधिसभा सदस्य सजिदा खातुन सिद्धिकीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरुषोत्तम सुप्रभात यादवले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ सम्बन्धमा दिएको भूत झार्नु पर्ने अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले उक्त अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको हो । उहाँले सो टिप्पणीलाई अत्यन्त तुच्छ र असंसदीय भएको भन्दै नियमापत्ति समेत जनाउनुभयो ।
सिद्धिकीले हरेक नेपाली नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्नेमा जोड दिँदै ओलीमाथि गरिएको धरपकड गैरन्यायिक भएको दाबी गर्नुभयो । उहाँले कार्की आयोगप्रति पनि प्रश्न उठाउँदै उक्त आयोग आफैँ पूर्वाग्रही देखिएको आरोप लगाउनुभयो । सो घटनाको निष्पक्ष छानबिनका लागि नयाँ आयोग गठन गर्नुपर्ने माग गर्दै आफूहरू त्यसमा पूर्ण सहयोग गर्न तयार रहेको सिद्धिकीले बताउनुभयो । ‘सत्य-तथ्य के हो भन्ने विषयमा फेरि छानबिन आयोग गठन गरियोस्, हामी सहयोग गर्न तयार छौँ,’ उहाँले भन्नुभयो ।
सांसद सिद्धिकीले सरकारका पछिल्ला नियुक्तिहरूमा सुशासनभन्दा शक्ति र प्रभावको घमण्ड झल्किएको टिप्पणी गर्नुभयो । ‘नियुक्तिमा गरिएको तालमेल निकै विचित्र देखिएको छ,’ सिद्धिकीले भन्नुभयो ।
उहाँले भदौ २३ र २४ गते भएका घटनाका प्रमाण नेपाली जनताको हात–हातमा रहेको दाबी गर्दै त्यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । ‘२३ लाई तपाईँले हेर्दा भदौ २४ का प्रमाणलाई हेर्ने हो भने हाम्रा यहीँ भएका हलका थुप्रै अनुहार छताछुल्ल हुने छन्, के यो विषयमा हामी गम्भीर छैनौँ ? आज भदौ २४ का घटना हात-हातमा छन्, यदि सरकार सक्दैन भने हामीलाई देओस्, हामी अर्को रिपोर्ट तयार गर्छौँ’, सिद्धिकीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्