काठमाडौं, चैत २५ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने समाचारबारे आफ्नो धारणा सार्वजनिक गर्दै भ्रमपूर्ण प्रचारप्रति आपत्ति जनाउनुभएको छ।
बुधबार सार्वजनिक गरिएको वक्तव्यमा देउवाले आफूले उक्त विषयबारे जानकारी सञ्चारमाध्यममार्फत पाएको उल्लेख गर्दै आफ्नो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भइरहेको बताउनुभएको छ। हालै उहाँमाथि सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत अनुसन्धान तीव्र पारिएको समाचार सार्वजनिक भइरहेका छन्।
देउवाले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गर्दै आएको स्पष्ट पार्नुभएको छ। उहाँले आफ्नो जीवनलाई ‘खुला पुस्तक’ को संज्ञा दिँदै लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा पारदर्शिताको पक्षमा आफूले सिङ्गो जीवन सङ्घर्षमा बिताएको उल्लेख गर्नुभएको छ।
वक्तव्यमा उहाँले भ्रष्टाचार नियन्त्रणका लागि आफ्नो योगदानसमेत स्मरण गर्नुभएको छ। गृहमन्त्री हुँदा आफ्नै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन ल्याइएको र प्रधानमन्त्री भएका बेला भ्रष्टाचार निवारण ऐन, २०५९ लागू गरिएको उहाँले उल्लेख गर्नुभएको छ। ‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शिता कायम गर्न मैले सधैँ अग्रसर भूमिका खेलेको छु,’ देउवाको भनाइ उद्धृत गर्दै वक्तव्यमा उल्लेख छ।
यसैबीच, देउवाले आफू र परिवार हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र उपचारको क्रम अझै जारी रहेको जानकारी पनि दिनुभएको छ। अनुसन्धानको विषयमा समयक्रमसँगै वास्तविकता बाहिर आउने दाबी गर्दै उहाँले अतिरञ्जित विवरणबाट भ्रममा नपर्न सबैमा अपिल गर्नुभएको छ।
हालै सार्वजनिक भएका विभिन्न समाचारमा देउवा, उहाँकी पत्नी र परिवारका सदस्यहरूको सम्पत्ति तथा आर्थिक कारोबारमाथि अनुसन्धान अगाडि बढाइएको उल्लेख गरिएको छ। देउवाले ‘वास्तविकता समयक्रमसँगै खुल्दै जानेछ’ भन्दै सबैलाई संयमित रहन आग्रह गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्