जनता टाइम्स

२५ चैत्र २०८२, बुधबार २१:३०

भदौ २३–२४ को हिंसा र विध्वंसमा गृहमन्त्री सुधन गुरुङको ‘खास भूमिका’ रहेको मानवअधिकार आयोगको निष्कर्ष


काठमाडौं, चैत २५ । राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गते भएको हत्या, आगजनी तथा व्यापक विध्वंसका घटनामा वर्तमान गृहमन्त्री सुधन गुरुङको खास भूमिका रहेको निष्कर्ष निकालेको छ।

आयोगको अनुसन्धान निष्कर्षअनुसार आन्दोलनलाई हिंसात्मक मोडमा लैजान ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका अध्यक्ष तथा हालका गृहमन्त्री गुरुङको महत्वपूर्ण भूमिका रहेको ठहर गरिएको छ। आयोगले आन्दोलन भड्काइएका कारण मानवीय क्षति भएको, मानवअधिकारको गम्भीर उल्लंघन हुन पुगेको तथा त्यसैका कारण देशभर अशान्ति र आगजनीको अवस्था सिर्जना भएको उल्लेख गरेको छ।

अनुसन्धानमा संलग्न एक पदाधिकारीका अनुसार प्रतिवेदनमा आन्दोलन कसरी योजनाबद्ध रूपमा उग्र बनाइयो, मानवअधिकार उल्लंघन हुने वातावरण कसरी तयार पारियो र त्यसमा कसको के भूमिका रह्यो भन्ने विषयमा विस्तृत विवरण समेटिएको छ। सोही आधारमा सुरक्षा परिषद्का तत्कालीन सदस्यहरू सरह सुधन गुरुङमाथि पनि मानवअधिकार उल्लंघनकर्ताका रूपमा कानुनी कारबाही सिफारिस गरिएको जनाइएको छ।

आयोगले भदौ २३–२४ का घटनालाई गम्भीर मानवअधिकार उल्लंघनको प्रकरणका रूपमा लिएको छ। यसअघि आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका उच्च अधिकारी, काठमाडौं महानगरका तत्कालीन प्रमुख  एवं वर्तमान प्रधानमन्त्री बालेन्द्र सकार लगायत विभिन्न पक्षसँग सोधपुछ गरिसकेको थियो।

आयोगको प्रतिवेदनमा आन्दोलनका क्रममा भएको दमन, हिंसा, आगजनी र मानवीय क्षतिका कारण तथा जिम्मेवार पक्षबारे विस्तृत विश्लेषण गरिएको बताइएको छ। प्रतिवेदन सार्वजनिक भएपछि यसले नेपालको समकालीन राजनीतिक तथा कानुनी वृत्तमा थप तरंग ल्याउने अनुमान गरिएको छ।

गृहमन्त्री गुरुङले यसअघि भदौ २३–२४ को घटनाबारे गठित छानबिन आयोगसमक्ष उपस्थित भई आफ्नो बयान दिनुभएको थियो। उहाँले आफू सत्य र प्रमाणको आधारमा स्पष्ट हुन तयार रहेको बताउनुभएको थियो।