जनता टाइम्स

२६ चैत्र २०८२, बिहीबार ०८:०३

कालिकोटमा एम्बुलेन्स दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु


काठमाडौं, चैत २६ ।  कालिकोटकाे हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार राति करिब ८ बजेतिर कालिकोटको खाँडाचक्र नगरपालिकास्थित मेयर खोलानजिक एम्बुलेन्स दुर्घटनामा परेको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक हिमा गाउँपालिका–७ मर्चीगाउँका २६ वर्षीय शक्ति शाही र हिमा गाउँपालिका–६ पाथरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएकाे छ ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा हिमा गाउँपालिकाकै लोकेन्द्र शाही र अक्कल अधिकारी रहेका छन् । दुवै जनाको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।