जनता टाइम्स

२६ चैत्र २०८२, बिहीबार ११:११

ओली र लेखकलाई छाड्न सरकारी वकिल कार्यालयले  काठमाडाैं प्रहरीलाई पठायो पत्र 


काठमाडौं, चैत २६। पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेशको रिहाइका लागि जिल्ला सरकारी वकिल कार्यालयको प्रहरीलाई पत्र पठाएको छ ।

काठमाडौं प्रहरीलाई जिल्ला सरकारी वकिल कार्यालयले उहाँहरूको रिहाइसम्बन्धी पत्र पठाएको हो। अब जिम्मा जमानी बस्ने व्यक्ति बोलाएर दुवै जनालाई रिहा गर्ने प्रक्रिया अघि बढाइनेछ ।

जेनजी आन्दोलन घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा उहाँहरूलाई पक्राउ गरिएको थियो । तर, मुद्दा दायर गर्न पर्याप्त आधार र प्रमाण नपुगेपछि रिहा गर्न लागिएको जनाइएको छ ।

यसअघि सर्वोच्च अदालतले अनुसन्धान तोकिएको समयभित्र पूरा गरी मुद्दा दायर गर्न, अन्यथा २६ गतेसम्ममा रिहा गर्न आदेश दिएको थियो । अदालतले अनुसन्धान पूरा नभए पनि हिरासतमा राख्ने म्याद नथप्न स्पष्ट निर्देशन दिएको थियो ।

प्रहरी स्रोतका अनुसार प्रहरी र महान्यायाधिवक्ता कार्यालयबिच मुद्दा दायर नगर्ने सहमति जुटेपछि रिहाइ प्रक्रिया अगाडि बढाइएको हो ।

प्रहरीले गत चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो । लेखक प्रहरी हिरासतमा हुनुहुन्छ भने ओली स्वास्थ्य समस्याका कारण शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ। चिकित्सकहरूले ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया गर्न सुझाव दिएका छन् ।

गृहमन्त्री सुधन गुरुङले भने उहाँहरूलाई नछाड्न प्रहरीलाई दबाब दिइरहनु भएको बुझिएको छ । उहाँले कानुन मिचेरै भए पनि उहाँहरूलाई थुन्न दबाब दिनुभएको हो ।