जनता टाइम्स

२६ चैत्र २०८२, बिहीबार ११:५५

पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा  


काठमाडौं, चैत २६। प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई स्वास्थ्य परीक्षणपछि रिहा गरेको छ । जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार हिरासतमा रहनुभएका लेखकलाई आवश्यक स्वास्थ्य परीक्षण सम्पन्न भएपछि छाडिएको हो ।

यसअघि उहाँसँगै पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने प्रहरीले टिचिङ अस्पतालमै परिवारको जिम्मामा छाडिसकेको थियो । अदालतको आदेशअनुसार थप म्याद नथपिने भएपछि दुवै जनाको रिहा गरिएकाे प्रहरीले जनाएकाे छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका क्रममा दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यस विषयमा सर्वोच्च अदालतले अनुसन्धान तोकिएको अवधिभित्र टुंग्याउन वा म्याद सकिएपछि रिहा गर्न आदेश दिएको थियो ।

तोकिएको हिरासत अवधि सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा प्रहरीले रिहाइ प्रक्रिया पूरा गरेको जनाएको छ । उहाँहरु माथि मुद्दा लगाउने कुनै आधार फेला नपरे पछि छाडिएकाे हाे ।