जनता टाइम्स

२६ चैत्र २०८२, बिहीबार १२:३५

कार्की आयोगको प्रतिशोधी, पूर्वाग्रही र अपूर्ण प्रतिवेदनलाई आधार बनाएर गरिएको गैरकानुनी गिरफ्तारीको औचित्य पुष्टि हुनसकेन : शंकर पोखरेल


काठमाडौं, चैत २६ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको पराकाष्ठा भएको टिप्पणी गर्नुभएको छ।

ओली र लेखक १० दिनको हिरासतपछि हाजिरी जमानीमा रिहा भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले ‘कार्की आयोगको प्रतिशोध, पूर्वाग्रही र अपूर्ण प्रतिवेदनलाई आधार बनाएर गरिएको गैरकानुनी गिरफ्तारीको औचित्य १० दिन बित्दासमेत पुष्टि हुन नसकेको’ बताउनुभएको हो।

उहाँले अन्ततः राज्य पक्षले हाजिरी जमानीको सहारा लिनुपरेको उल्लेख गर्दै यस घटनाले गम्भीर राजनीतिक र कानुनी प्रश्न उठाएको बताउनुभयो। ‘कार्की आयोगको प्रतिशोध, पूर्वाग्रही र अपूर्ण प्रतिवेदनलाई आधार बनाएर गरिएको गैरकानुनी गिरफ्तारीको १० दिन बित्दा पनि औचित्य पुष्टि हुन सकेन, अन्ततः हाजिरी जमानीको सहारा लिनु पर्‍यो-यसले धेरै प्रश्न उठाएको छ,’ पोखरेलले लेख्नुभएको छ।

एमालेले सुरुदेखि नै ओली र लेखकमाथिको पक्राउलाई ‘प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी’ भन्दै विरोध गर्दै आएको थियो। गिरफ्तारीको दिन बसेको सचिवालय बैठकपछि महासचिव पोखरेलले यस कदमको निन्दा, भर्त्सना र विरोध गरेको बताउनुभएको थियो।

सर्वोच्च अदालतले पनि अनुसन्धान तोकिएको समयभित्र नसकिए हिरासतमुक्त गर्न आदेश दिएको थियो। त्यसपछि १० दिनको हिरासतपश्चात दुवै नेता हाजिरी जमानीमा रिहा हुनुभएकाे हाे ।