जनता टाइम्स

२६ चैत्र २०८२, बिहीबार २१:१०

रास्वपाभित्रको शक्ति संघर्ष छताछुल्ल : रविले आफ्नालाई जोगाएर मन्त्रीबाट निकालिदिए बालेनकै विश्वासपात्रलाई


काठमाडौं, चैत २६ । दुईतिहाई नजिकको सङ्ख्यासहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको शक्ति सङ्घर्ष १५ दिन नपुग्दै सतहमा आएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई श्रीमतीलाई नियुक्ति दिएको विषयलाई लिएर सभापति रविले पत्र लेखेरै बर्खास्त गर्न भनेपछि पार्टीभित्रको शक्ति सङ्घर्ष सतहमा आएको हो ।

प्रधानमन्त्री बालेन साहलाई सभापति लामिछानेले पार्टीको लेटरप्याडमा बिना बैठक निकाल्न पत्र लेखेपछि आज बिहीबार मात्रै मन्त्री साह बर्खास्तकीमा पर्नुभएको छ । स्वास्थ्य मन्त्री निशा मेहताले नियुक्त गरे पनि उहाँलाई सचेत र नियुक्ति नै नदिने मन्त्रीलाई बर्खास्त गर्न सिफारिस गरेपछि दुई नेताबिच चरम शक्ति सङ्घर्ष रहेको प्रष्ट तस्बिर बाहिर आएको छ ।

‘यो शक्ति सङ्घर्षकै परिणाम हो, दुई नेतामा मेल छैन, एकले अर्कालाई ठेगान लगाउने काम भइरहेको छ भन्ने नै देखिन्छ,’ जनताटाइम्स डटकमका प्रतिनिधिसँगको कुराकानीमा रास्वपाकै एक केन्द्रीय सदस्यले भन्नुभयो । उहाँका अनुसार प्रधानमन्त्री बालेनले सभापति रविले भनेको काम नगर्न भनिसकेको सूचना पाएपछि उहाँ निकै सशङ्कित बन्नुभएको छ ।

सभापति लामिछानेले चितवनमा पौडेल थरका एक एसपीलाई लैजान चाहेकोमा प्रधानमन्त्री बालेनले नै रोकिदिएपछि उहाँ यस्तो पाराले चल्दैन भन्दै बिच्किनुभएको पनि ती केन्द्रीय सदस्यले जनताटाइम्स डटकमलाई जानकारी दिनुभयो । उहाँका अनुसार सभापति लामिछानेले पत्नी निकिताका नातेदार पौडेल थरका एसपीलाई चितवन लैजान एक साता अघि गृहमन्त्री सुधन गुरुङलाई भन्नुभएको थियो तर गृहमन्त्रीले प्रधानमन्त्री बालेनलाई पोल लगाइदिएपछि सरुवा नगर्नू भन्ने निर्देशन पाएकोले रोकिएको छ ।

सोही विषयमा रविले संसद् बैठक चलिरहेकै बेला पोखरा जग्गा काण्ड के हो भन्दै चितवन एसपी सरुवाको विषयमा कुराकानी गर्नुभएको थियो तर गृहमन्त्री सुधनले सो विषय पनि प्रधानमन्त्रीलाई सुनाएपछि उहाँले यस्तो काम हुन्न भन्दै जङ्गिनुभएको थियो । मन्त्री चयन र उपसभामुख कुन दललाई दिने भन्ने विषयमा त दुई नेताबिच निकै ठुलो तिक्ततापूर्ण अवस्था बनेको थियो । प्रधानमन्त्री बालेनले रविको चाहनाअनुसार राप्रपाकी खुस्बु ओलीलाई उपसभामुख बनाउन चाहेको तर प्रधानमन्त्री बालेनले ठाडै अस्वीकार गर्दै नयाँ दल भन्ने नारा स्थापित गर्न हर्क साम्पाङको श्रम संस्कृतिलाई दिनुपर्छ भनेर काउन्टर दिएको पनि ती नेताको भनाई छ ।

उपसभामुखमा पनि दुई नेताबिचको शक्ति सङ्घर्षले निर्णय नै बदलिएको ती सदस्यको भनाई छ । सरकार गठनकै बेलादेखि सुरु भएको दुई नेताबिचको अविश्वास र शक्ति सङ्घर्षले चरम रूप लिएको सत्य उजागर यी दुई घटनाबाट भएको छ । सभापति रवि लामिछाने र वरिष्ठ नेतासमेत रहनुभएका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) पक्षको शक्ति सङ्घर्ष श्रममन्त्री दीपक साहको बर्खास्ती प्रकरणले छताछुल्ल पनि बनेको हो । मन्त्री साहले स्पष्टीकरणसमेत दिन नपाई बर्खास्तमा परेको गुनासो गर्नुभएको छ ।

प्रधानमन्त्री बालेनका नातेदार भनिएका श्रममन्त्री साहलाई मन्त्री पदबाट बर्खास्त गर्न रविले पत्र नै लेख्नुभएको थियो । प्रधानमन्त्रीले मौखिक सुझाव नमानेपछि रविले पत्र नै लेखेर मिडियामा सार्वजनिक गर्नुभएको हो । सो घटनाले प्रधानमन्त्रीले उहाँलाई हटाउन बाध्य बनेको अर्का नेताले बताउनुभयाे । क्याबिनेट गठन हुँदा बालेनले आफ्नो तजबिजीमा श्रम मन्त्रालयको जिम्मेवारी साहलाई दिनुभएको थियो । तर श्रीमती जुनुलाई जागिर खुवाएको भन्दै पार्टी सभापति रवि लामिछानेले बर्खास्त गराइ छाड्नु भएको छ ।

उता जुनुलाई नियुक्ति दिने स्वास्थ्य मन्त्री निशा भने सभापति रवि निकट भएको कारण सचेत गराएर पद जोगाइएको छ । समानुपातिक सांसद निशालाई जोगाएर महोत्तरी-२ बाट निर्वाचित सांसद साहलाई भने हटाइएको हो । स्वास्थ्य बीमा बोर्डको सदस्यमा श्रीमती जुनु श्रेष्ठलाई पुनर्बहाली गराएपछि विवादमा तानिएको भन्दै हटाइएको छ । उहाँमाथि स्वाथ्यमन्त्री निशा मेहतामार्फत् श्रीमतीलाई बोर्ड सदस्यमा पुनर्नियुक्ति दिलाएको आरोप लगाएर हटाइएको हो ।

कांग्रेस नेता मोहनबहादुर बस्नेत स्वास्थ्य मन्त्री रहेका बेला जुनुले उक्त पदमा नियुक्ति पाउनु भएको थियो । तर, पढाइको सिलसिलामा पति साहसँगै बेलायत पुगेर जुनु लामो समय बोर्ड बैठकमा अनुपस्थित रहेपछि स्वतः निलम्बनमा पर्नुभएको थियो । पति मन्त्री भएपछि स्वास्थ्य मन्त्री निशाले जुनुलाई पुनः सोही पदमा कायम रहेको गराएर बैठकमा बोलाउन निर्देशन दिनुभएको हो ।

यस घटनापछि साहले आफूलाई पार्टी सभापतिले प्रधानमन्त्रीसँगको रिस फेरेको अर्थमा बुझ्नुभएको छ । ‘बिहानसम्म मलाई केही जानकारी थिएन, केही भनिएको पनि थिएन, केही सोधिएन पनि एकाएक हटाइयो,’ बर्खास्तमा परेपछि साहको गुनासो छ । रास्वपा स्रोतका अनुसार श्रीमतीलाई नियुक्त गराएको समाचार आउन साथ सभापति रविले प्रधानमन्त्रीलाई हटाउन भन्नुभएको थियो । तीन पटकसम्म भन्दा पनि प्रधानमन्त्री बालेनले सुनेको नसुने झैँ गरेपछि पार्टीको लेटरप्याटमा लेखेर हटाउन भन्दै पत्र पठाई मिडियामार्फत तत्कालै सार्वजनिक गर्नुभएको थियो ।

 

साहको यो कार्य पार्टी नीतिविपरित रहेको भन्दै सभापतिले आज प्रधानमन्त्री बालेन्द्रलाई पत्र लेखेर पदबाट हटाउन सिफारिस गर्नुभएको हो । पत्रमा मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको र सो कदमले पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा आँच पुर्‍याएको उल्लेख छ । सभापति रविले नियुक्ति नै दिने विभागीय मन्त्री मेहतालाई भने सचेत मात्र गराउनु भएको छ । रास्वपा स्थापनाकालदेखि नै पार्टीमा लाग्नुभएकी निशा रविको सिफारिसमा मन्त्री हुनुभएको हो । बर्खास्त मन्त्री साह भने प्रधानमन्त्री बालेनको कोटाबाट मन्त्री बन्नुभएको थियो । साह प्रधानमन्त्री बालेनको गृहजिल्लाकाे र नातेदार पनि हुनुहुन्छ ।

आफ्नालाई पार्टीको दबाबमा मन्त्रीबाट निकाल्नुपरेको रिस प्रधानमन्त्री साहले उपसभामुखमा फेर्नुभएको छ । सभापति रविको टिमले राप्रपालाई उपसभामुख दिने निर्णय गरे लगत्तै प्रधानमन्त्री बालेनले आपत्ति जनाएर १० मिनेटमै निर्णय परिवर्तन गरी श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय गराउनु भएको हो । श्रम संस्कृतिले मधेसकै एक जेनजी सांसद रुविकुमारी ठाकुरलाई उपसभामुख अघि सार्ने भएपछि साहले रविलाई ठेगान लगाएर मधेसकी चेलीको पक्षमा निर्णय गराई बदला लिनुभएको रास्वपा स्रोतले जनताटाइम्स डटकमलाई बतायो ।

रवि भने पत्नी निकिताकी मित्र राप्रपाकी खुस्बु ओलीलाई उपसभामुख बनाउने योजनामा रहनुभएको थियो । सोही अनुसार राप्रपालाई उपसभामुखमा समर्थन गर्ने जानकारी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलाई रवि आफैँले गराउनु भएको थियो । तर १० मिनेटमै निर्णय परिवर्तन गरेर श्रम संस्कृतिलाई समर्थन गरेपछि राजा फर्काउने भनेर हरिबिजोग बनेको दल राप्रपा ट्वाँ परेको छ ।

बुधवार संसदमा ललितपुर २ बाट निर्वाचित पूर्वपत्रकार जगदीश खरेलले रवि लामिछाने जस्तो नेता कोही छैन भन्ने अभिव्यक्ति पनि रास्वपाभित्रको शक्ति संघर्षकै कारण आएको ती नेताले जनताटाइम्स डटकमलाई बताउनुभयाे ।

बालेनको कोटाबाट उम्मेदवार बन्नुभएका खरेलले सदनमा सोही अभिव्यक्ति मार्फत मन्त्री नबनाएको झोकमा कित्ता फेरेको घोषणा आएको उहाँको भनाई छ ।