जनता टाइम्स

२६ चैत्र २०८२, बिहीबार २१:५८

कञ्चनपुरमा जीप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, ६ घाइते


काठमाडौं, चैत २६ । कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कृष्णपुर नगरपालिका–१ पहरियामा डडेल्धुरातर्फ जाँदै गरेको से १ ज २९० नम्बरको जिप भित्री ग्रामीण कच्ची सडकबाट तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा कृष्णपुर नगरपालिका–१ का ६० वर्षीय नन्दराम पार्की र सोही ठाउँकी ६२ वर्षीया कलावती देवी बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिपमा सवार अन्य ६ जना घाइते भएका छन्। घाइतेहरूको अवस्था बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि धनगढी पठाइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।