काठमाडौं, चैत २६ । संघीय संसदको चालू अधिवेशन भोलि शुक्रबार रातिबाट अन्त्य हुने भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको हो।
शीतल निवासले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्नुभएको जनाएको छ। यो निर्णय नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम गरिएको हो।
यससँगै संघीय संसदका दुवै सदनको चालू अधिवेशन औपचारिक रूपमा समाप्त हुने भएको छ। सरकारले आगामी बजेट अधिवेशनको तयारीका लागि वर्तमान अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको बताइएको छ।
संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिलाई संसद् अधिवेशन आह्वान तथा अन्त्य गर्ने अधिकार रहेको छ। केही दिनअघि मात्र राष्ट्रपति पौडेलले चालू अधिवेशन आह्वान गर्नुभएको थियो।













प्रतिक्रिया दिनुहोस्