काठमाडौं, चैत २६ । स्वास्थ्य बिमा बोर्डबाट आफूलाई र पदमुक्त गरिएकी जुनु श्रेष्ठ साहले आफूलाई कुनै स्पष्टीकरणबिना हटाइएको भन्दै यसलाई सुशासनको मर्मविपरीत भएको टिप्पणी गर्नुभएको छ। उहाँले आफूलाई तथा पदमुक्त गरिएका मन्त्री दीपक साहसँग जोडेर हेरिनु गलत भएको पनि बताउनुभएको छ।
सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै जुनु साहले हाल स्वास्थ्य बिमा बोर्डमा आफ्नो पुनर्नियुक्तिबारे विभिन्न टिकाटिप्पणी भइरहेको सन्दर्भमा स्पष्ट धारणा सार्वजनिक गर्नुभएको हो। उहाँलई पुनर्वहाली गराएकाे भन्दै उहाँका पति साहलाई आज मन्त्रीबाट हटाइएकाे छ ।
उहाँले आफू टिचिङ अस्पताल, त्रिभुवन विश्वविद्यालयबाट अप्टोमेट्रीमा स्नातक तथा जनस्वास्थ्यमा स्नातकोत्तर दुवै तहमा स्वर्ण पदकसहित उत्तीर्ण भएको बताउँदै स्वास्थ्य क्षेत्रको लामो शैक्षिक र व्यावसायिक अनुभव रहेको उल्लेख गर्नुभएको छ।
‘म टिचिङ हस्पिटल, त्रिभुवन विश्वविद्यालयबाट अप्टोमेट्रीमा स्नातक पढेको हुँ । त्यस विषयमा म स्वर्ण पदक विजेता थिएँ । त्यसपछि जनस्वास्थ्यमा स्नातकोत्तर पनि गरेँ, जसमा पनि स्वर्ण पदक विजेता नै हुँ,’ उहाँले भन्नुभएको छ।
उहाँले मातृ तथा बाल स्वास्थ्य, प्रजनन स्वास्थ्य तथा कोभिडसम्बन्धी विभिन्न परियोजनामा काम गरेको र सन् २०२० मा बेलायत सरकारको छात्रवृत्तिमा London School of Economics and Political Science र London School of Hygiene & Tropical Medicine मा स्वास्थ्य नीति, योजना तथा वित्त विषयमा एमएससी अध्ययन गरेको जानकारी दिनुभएको छ।
जुनु साहका अनुसार स्वास्थ्य बिमा बोर्डमा उहाँको नियुक्ति २०८० मङ्सिरमा भएको थियो। त्यहाँ आफूले अध्ययन र अनुभवलाई कार्यान्वयनमा ल्याउने अपेक्षा राखेको उहाँको भनाइ छ।
उहाँले विदेशमा रहँदा बोर्डका बैठकमा उपस्थित हुन नसके पनि पूर्वजानकारी गराएर अनुपस्थित भएको दाबी गर्नुभएको छ। ‘पहिला तीनवटा बैठकमा अनलाइन सहभागी भएर आफ्नो राय दिएको थिएँ । चौथो बैठकमा प्राविधिक समस्याका कारण बोल्न पाइनँ । पछि पनि प्रत्येक बैठकमा आफ्नो अनुपस्थितिको कारण जानकारी गराएँ,’ उहाँले स्पष्ट गर्नुभएको छ।
नेपाल फर्किएपछि पुनः काममा निरन्तरता दिन इच्छा व्यक्त गरेको र बोर्डको वेबसाइटमा आफ्नो नाम सदस्यका रूपमा कायम रहेकाले अझै योगदान दिन सकिने विश्वास रहेको उहाँले बताउनुभएको छ।
उहाँले आफू हाल World Health Organization को नागरिक समाज आयोगको स्टियरिङ कमिटी सदस्य रहेको र अन्तर्राष्ट्रिय स्तरमा पनि स्वास्थ्य नीतिसम्बन्धी काम गरिरहेको जानकारी दिनुभएको छ।
यस क्रममा अहिलेको घटनामा आफ्नो पतिलाई जोडेर टिप्पणी गरिनु उचित नभएको उहाँको तर्क छ। ‘अहिले भइरहेको घटनामा मेरो पतिलाई जोडिनु उचित होइन । महिलाहरू सधैँ कसैको सहारामा मात्र अगाडि बढ्छन् भन्ने सोच हटाउनुपर्छ,’ उहाँले भन्नुभएको छ।
आफूलाई कुनै स्पष्टीकरण नदिई पदमुक्त गरिएकोप्रति असन्तुष्टि जनाउँदै उहाँले सुशासनमाथि नै प्रश्न उठाउनुभएको छ।
‘बिनाकुनै स्पष्टीकरण पदमुक्त गरिनु र मलाई सोधनी पनि नहुनु दुःखद छ । यदि यसलाई नै सुशासन भनिन्छ भने, सुशासन के हो भन्ने पुनः सोच्नुपर्ने अवस्था आएको छ,’ उहाँले उल्लेख गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्