जनता टाइम्स

२७ चैत्र २०८२, शुक्रबार ०८:३६

स्थानीय आर्थिक विकासमा मन्थलीको राष्ट्रिय पहिचान, उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित


रामेछाप, चैत २७ । स्थानीय आर्थिक विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहमा उल्लेखनीय काम गरेको भन्दै रामेछापको मन्थली नगरपालिकाले राष्ट्रिय स्तरको ‘उत्कृष्ट नगरपालिका पुरस्कार २०८२’ प्राप्त गरेको छ। यस सम्मानसँगै मन्थली नगरपालिकाले आफ्नो विकास प्रयासलाई राष्ट्रिय मञ्चमा स्थापित गर्न सफल भएको छ।

नेपाल नगरपालिका संघको ३३ औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा मन्थली नगरपालिकालाई उक्त पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठलाई सम्मान–पत्र हस्तान्तरण गरिएको थियो।

संघले देशभरका नगरपालिकाहरूको अध्ययन, सर्वेक्षण तथा कार्यसम्पादन मूल्याङ्कनपछि स्थानीय आर्थिक विकास क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको आधारमा मन्थलीलाई उत्कृष्ट नगरपालिकाका रूपमा छनोट गरेको जनाएको छ। सम्मान–पत्रमा नगरपालिकाले आर्थिक विकास, सुशासन तथा प्रभावकारी सेवा प्रवाहमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरिएको उल्लेख छ।

मन्थली नगरपालिकाले पछिल्लो समय स्थानीय स्तरमा आर्थिक गतिविधि प्रवर्द्धन, पूर्वाधार विकास, सेवा प्रवाहमा सहजता तथा जनमुखी योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ। यही कार्यसम्पादनलाई आधार मानेर राष्ट्रिय स्तरको सम्मान प्राप्त भएको हाे  ।

नगर प्रमुख लव श्रेष्ठले राष्ट्रिय स्तरमा नगरपालिका पुरस्कृत हुनु मन्थलीका लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले यो सम्मान सम्पूर्ण नगरवासी, जनप्रतिनिधि तथा कर्मचारीहरूको सामूहिक मेहनत र प्रतिबद्धताको परिणाम भएको उल्लेख गर्नुभयो।

उहाँले यस उपलब्धिले आगामी दिनमा अझ प्रभावकारी ढंगले विकासका कार्यक्रम अघि बढाउन थप ऊर्जा र जिम्मेवारी थपिएको बताउँदै नगरपालिकाले सुशासन र स्थानीय आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर काम जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो सम्मानले मन्थली नगरपालिकाको विकास मोडेललाई अन्य स्थानीय तहका लागि पनि उदाहरणीय बनाउने अपेक्षा गरिएको छ।