जनता टाइम्स

२७ चैत्र २०८२, शुक्रबार ०८:५६

रास्वपा सांसदको गैरकानुनी धन्दा : सत्ताको आडमा जुवा घरमा नेपाली छिराएर पारिन्छ फन्दा !


रुपन्देही, चैत २७ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद नरेन्द्र साह कलवारसँग जोडिएको भनिएको रुपन्देहीको मणिग्रामस्थित सीएमजी क्लब क्यासिनोबाट जुवा खेलिरहेको अवस्थामा चार जना नेपाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। क्यासिनोमा जुवा खेलाउन सहयोग गरेको आरोपमा थप दुई जनालाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार नेपाली नागरिक क्यासिनोभित्र प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारिएको थियो। सो क्रममा चार जना नेपाली नागरिक र क्यासिनो सञ्चालनसँग सम्बन्धित दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

घटनापछि स्थानीय तहमा क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवामा फसाउने धन्दा चलाइएको भन्ने आरोप सार्वजनिक भएको छ। केही स्थानीयवासीले राजनीतिक पहुँच र सत्ताको आडमा नेपालीहरूलाई क्यासिनोभित्र छिराएर आर्थिक रूपमा फसाउने काम भइरहेको दाबी गरेका छन्।

यद्यपि, उक्त आरोपबारे सम्बन्धित सांसद वा क्यासिनो व्यवस्थापन पक्षबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन। प्रहरीले पनि घटनाको सबै पक्षमा अनुसन्धान जारी रहेको जनाएको छ।

नेपालको प्रचलित कानुनअनुसार क्यासिनोमा विदेशी नागरिकलाई मात्र जुवा खेल्न अनुमति हुने व्यवस्था रहेको छ। यस्तो अवस्थामा नेपाली नागरिकको उपस्थिति भेटिएपछि क्यासिनो सञ्चालन प्रक्रिया, प्रवेश व्यवस्थापन तथा कानुनी जिम्मेवारीबारे थप छानबिन भइरहेको प्रहरी स्रोतले जनाएको छ।