जनता टाइम्स

२७ चैत्र २०८२, शुक्रबार ०९:११

प्रतिनिधिसभाको उपसभामुख निर्वाचन आज, श्रम संस्कृतिकी रुवीकुमारी ठाकुर र  राप्रपाकी सरस्वती लामा प्रतिस्पर्धामा


काठमाडौं, चैत २७ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदै छ। उपसभामुख पदका लागि दुई जना सांसदबीच प्रतिस्पर्धा हुने भएको छ।

उक्त पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामाको उम्मेदवारी परेको छ। दुवै पक्षले आफ्नो उम्मेदवारीलाई समर्थन जुटाउने प्रयासलाई तीव्र बनाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले औपचारिक निर्णयमार्फत ठाकुरलाई समर्थन गर्ने निर्णय गरेसँगै सदनमा सात सिट रहेको श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरको जित लगभग निश्चित देखिएको छ।

सभामुख डोलप्रसाद अर्यालले बुधबार बसेको प्रतिनिधिसभा बैठकमार्फत उपसभामुख निर्वाचनको मिति तोक्नुभएको थियो। सोही निर्णयअनुसार आज दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको छ।

राप्रपाकी उम्मेदवार सरस्वती लामालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सांसद ज्ञानबहादुर शाहीले प्रस्तुत गर्ने कार्यक्रम छ। उक्त प्रस्तावमा राप्रपाकै ताहिर अली, खुस्बु ओली र भरत गिरिले समर्थन गर्नुहुनेछ।

त्यसैगरी, श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सांसद आरेन राईले प्रस्तुत गर्नुहुनेछ। सो प्रस्तावमा रास्वपाका अशोक चौधरी र अम्बिकादेवी संग्रौलाले समर्थन गर्नुहुनेछ।