रामेछाप, चैत २७ । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले पार्टीको वर्तमान संरचनाबाट अपेक्षित उपलब्धि हासिल गर्न कठिन रहेको बताउँदै संगठनलाई शून्यबाट पुनर्निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
शुक्रबार नेकपा एमाले रामेछापले आयोजना गरेको पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अहिलेको कमिटी संरचना, सदस्यता आधार र संगठनात्मक अवस्थाबाट पार्टीलाई नयाँ उचाइमा पुर्याउने विश्वासिलो आधार कमजोर बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेकै पार्टी संरचनाबाट, अहिलेकै कमिटीबाट हामीले धेरै ठूलो विश्वास गर्न सक्ने अवस्था छैन। अहिलेको सदस्यताबाट मात्रै ठूलो उपलब्धि हासिल गर्न सकिने अवस्था पनि देखिँदैन।’
ढुङ्गेलले पछिल्ला निर्वाचन परिणामलाई उदाहरण दिँदै पार्टीको अवस्था चिन्ताजनक दिशातर्फ गएको संकेत गर्नुभयो। उहाँका अनुसार उम्मेदवारप्रति असन्तुष्टि हुनु स्वाभाविक भए पनि पार्टीको समानुपातिक मतसमेत घट्नु संगठन र विचार दुवै पक्षका लागि गम्भीर चेतावनी हो। उहाँले भन्नुभयो, ‘उम्मेदवार मन नपर्न सक्नु एउटा कुरा हो, तर पार्टीलाई नै मत नहाल्ने स्थिति आउनु निकै खतरनाक संकेत हो।’
पार्टीभित्र वैचारिक प्रतिबद्धता कमजोर हुँदै गएको उल्लेख गर्दै उहाँले सदस्यहरूले विचार, निष्ठा र राजनीतिक दृष्टिकोणसमेत बिर्सँदै गएको टिप्पणी गर्नुभयो। यस्तो अवस्थाले संगठनको आधार कमजोर बनाएको उहाँको भनाइ थियो।

ढुङ्गेलले पार्टी जीवन र संगठनात्मक अभ्यासको निर्मम समीक्षा नगरी अघि बढ्न नसकिने बताउनुभयो। पार्टीले बेहोरेको क्षतिबारे गहिरो आत्मसमीक्षा गर्दै पुनर्गठनको दिशामा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।
उहाँले भन्नुभयो, ‘अब पार्टी जीवनको निर्मम समीक्षा गरेर मात्रै अघि बढ्नुपर्छ। पार्टीले यति ठूलो क्षति बेहोरेको छ, त्यसैले गम्भीर आत्मसमीक्षा अपरिहार्य छ।’
भेलामा सहभागी अगुवा कार्यकर्ताहरूले पनि पार्टीका वर्तमान संरचनाहरूलाई पुनर्गठन गर्दै नयाँ ढंगले संगठन सुदृढ गर्न सुझाव दिएका थिए। स्थानीय तहदेखि वडा तहसम्मको संगठनात्मक पुनर्संरचना आवश्यक रहेको उनीहरूको धारणा थियो।
नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा सम्पन्न भेलामा प्रदेश, जिल्ला, पालिका तथा वडा तहका अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।













प्रतिक्रिया दिनुहोस्