काठमाडौं , चैत २७। उपसभामुख निर्वाचनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केवल पदको प्रतिस्पर्धा नभई वैचारिक ध्रुवीकरणको मञ्चका रूपमा प्रस्तुत गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नयाँ र पुराना राजनीतिक दलबीच साइनबोर्ड मात्र फरक देखिए पनि नीतिगत रूपमा एउटै केन्द्रमा जोडिएको आरोप लगाउनुभयो।
उहाँले संसदमा सङ्ख्यात्मक रूपमा सानो भए पनि वास्तविक र बलियो प्रतिपक्षको भूमिकामा राप्रपा मात्रै रहेको दाबी गर्नुभयो। उपसभामुख पदमा उम्मेदवारी दिनुअघि विभिन्न राजनीतिक दलसँग छलफल भएको उल्लेख गर्दै उहाँले रवि लामिछानेबाट सहयोगको आश्वासन पाएपछि उम्मेदवारी टुङ्गो लागेको बताउनुभयो।उहाँले भन्नुभयो, ‘सबैभन्दा ठूलो दलबाट प्रस्ताव आएपछि र परिवर्तन खोज्ने शक्तिबीच ध्रुवीकरणको सम्भावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने निष्कर्षमा पुगेका थियौँ, सहयोगको आश्वासन प्राप्त भएपछि संसदीय दलको सर्वसम्मत निर्णयले उम्मेदवारी दिएका हौँ।’
शाहीले उपसभामुखको उम्मेदवारीलाई तत्कालीन राजनीतिक समीकरणभन्दा परको विषयका रूपमा व्याख्या गर्नुभयो। उहाँका अनुसार यसले वर्तमान व्यवस्थालाई निरन्तरता दिन चाहने र वैकल्पिक मौलिक राजनीतिक व्यवस्था खोज्ने शक्तिबीच स्पष्ट रेखा कोरेको छ। उहाँले भन्नुभयो, ‘पुराना भनिएका दल र अहिले उदाएका नयाँ दलका साइनबोर्ड फरक भए पनि नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको स्पष्ट भएको छ।’
राप्रपाले यस निर्वाचनलाई राष्ट्रवाद र आयातित व्यवस्थाबीचको वैचारिक परीक्षणका रूपमा समेत चित्रण गरेको छ। शाहीले आफ्नो पार्टीकाे उम्मेदवारी केवल उपसभामुख पदका लागि नभई राष्ट्र र राष्ट्रियताको पक्षमा उभिने अभियानको हिस्साका रूपमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो केवल एक थान उपसभामुखको पदका लागि मात्र होइन, विदेशी प्रभाव र आयातित व्यवस्थाको विरुद्ध राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने महाअभियानको ऐतिहासिक परीक्षा हो।’
शाहीले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शा को दिव्य उपदेशलाई उद्धृत गर्दै राप्रपा राष्ट्रको पहिचान र मौलिक व्यवस्थाको पक्षमा उभिएको जिकिर गर्नुभयो। सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणका मुद्दामा रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उहाँले राष्ट्रिय पहिचानको प्रश्नलाई मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि सार्नुभयो। उहाँले भन्नुभयो, ‘आज राष्ट्रको पहिचान खोजिएको छ। दबिएको आवाजलाई मूलधारमा ल्याउन र संसारभर सुनाउन हामी यहाँ उभिएका छौँ।’
उहाँले कार्यपालीका र व्यवस्थापिककाे सबै मुख्य पदमा आर्यन समुदायका मात्रै भएकाे अवस्थमा राप्रपाले जनजिति समूदायबाट उम्मेदवार बनाएकाे दाबी गर्नुभयाे । तर बहुमतकाे नाममा राप्रपालाई धाेका दिने काम भएकाे उहाँले बताउनुभयाे । ‘राजनीति कस्ताे हुने रहेछ, आज बुझ्दै छाै, अझ बुझ्दै जाने छाैँ’, उहाँले भन्नुभयाे ।
मतदानअघि सभामुख डोलप्रसाद अर्यालले उम्मेदवारी फिर्ता लिन समय दिए पनि राप्रपाले त्यसलाई अस्वीकार गरेको थियो। शाहीले यो निर्वाचनले राष्ट्रवादी शक्ति र विदेशबाट आयातित व्यवस्थाको पक्षधर शक्तिबीच स्पष्ट कित्ता छुट्याउने दाबी गर्दै उम्मेदवारी नफिर्ता नलिने निर्णय सुनाउनुभयो।
यससँगै उपसभामुख पदका लागि मतदान प्रक्रिया सुरु भएको छ।













प्रतिक्रिया दिनुहोस्