काठमाडौं, चैत २७। प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ। आज सम्पन्न निर्वाचनमा उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सरस्वती लामा लाई पराजित गर्दै विजय हासिल गर्नुभएको हो।
निर्वाचनमा उपस्थित २५७ सांसदमध्ये रुबीकुमारी ठाकुरले २२९ मत प्राप्त गर्नुभयो, भने राप्रपाकी लामाले ५ मत मात्र प्राप्त गर्नुभयो। उपसभामुखमा उहाँको उम्मेदवारीलाई सत्तारूढ दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस तथा नेकप ले समर्थन गरेका थिए।
नेकपा एमालेले भने कसैलाई मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको थियो। एमालेका २५ सांसद रहेकामा तटस्थमा २२ मत खसेको जनाइएको छ।
संसदकी कान्छी सदस्यबाट उपसभामुखसम्म
२५ वर्षीया रुबीकुमारी ठाकुर नेपालकै सबैभन्दा कम उमेरमा उपसभामुख बन्ने सांसदका रूपमा स्थापित हुनुभएको छ। उहाँ अहिलेको प्रतिनिधि सभाकै सबैभन्दा कान्छी सदस्य पनि हुनुहुन्छ।
श्रम संस्कृति पार्टीले उहाँलाई मधेसी महिला कोटाअन्तर्गत समानुपातिक बन्दसूचीमा समावेश गरेको थियो। संसदमा प्रवेश गरेको छोटो समयमै उपसभामुखजस्तो महत्वपूर्ण जिम्मेवारीमा पुग्नु उहाँका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
सामान्य परिवारबाट राष्ट्रिय नेतृत्वसम्म
धनुषाको एक सामान्य परिवारमा जन्मिनुभएकी रुबीकुमारीको राजनीतिक पृष्ठभूमि भने थिएन। परिवारमा चार बहिनी र दुई भाइको जिम्मेवारी उहाँको काँधमा थियो।
उहाँका पिता सोगराथ ठाकुर अहिले पनि वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहनुभएको छ भने आमा रेणु ठाकुर गृहिणी हुनुहुन्छ। परिवारको जीविकोपार्जन दुई विघा जमिन अधियाँमा लिएर गरिएको खेती तथा विदेशबाट आउने रेमिट्यान्समा निर्भर रहेको बताइएको छ।
रुबीकुमारीले २०७४ सालमा एसईई उत्तीर्ण गरेपछि धनुषाकै बलरा पोलिटेक्निकबाट तीन वर्षे डिप्लोमा (इन्जिनियरिङ) अध्ययन पूरा गर्नुभएको थियो। सांसद निर्वाचित हुनुअघि उहाँ वस्तु आर्किटेक्चर कन्सल्टेन्सीमा कार्यरत रहनुभएको थियो । जहाँबाट मासिक करिब २० हजार रुपैयाँ आम्दानी गर्नुहुन्थ्यो।
राजनीतिक यात्राको सुरुआत
चुनावी अभियानका क्रममा हर्क साम्पाङ धनुषा पुग्दा पहिलो पटक उहाँसँग रुबीकुमारीको भेट भएको थियाे। साम्पाङको विचार र अभियानबाट प्रभावित भएपछि उहाँ श्रम संस्कृति पार्टीको चुनावी प्रचारप्रसारमा सक्रिय रूपमा सहभागी हुन थाल्नुभयाे।
साेही सक्रियताका आधारमा पार्टीले उहाँलाई मधेसी महिला क्लस्टरबाट समानुपातिक सूचीमा सिफारिस गरेको थियो। उहाँ उपसभामुखमा निर्वाचित हुनु नयाँ पुस्ताको नेतृत्व उदयका रूपमा पनि हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्