जनता टाइम्स

२९ चैत्र २०८२, आईतवार ११:२८

प्रधानमन्त्री बालेन्द्र शाहलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ


काठमाडौं, चैत्र २९ । पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी रोशन पोखरेल रहेका छन्। उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ‘Hades’ नामक युट्युब च्यानल मा प्रसारित सामग्रीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। उक्त सामग्रीमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूविरुद्ध अपमानजनक अभिव्यक्ति प्रयोग गरिएको आरोप लगाइएको छ।

पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णका अनुसार पक्राउ परेका पोखरेललाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

यस घटनासँगै सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता र त्यसको कानुनी सीमाबारे पुनः बहस सुरु भएको छ। प्रहरी स्रोतका अनुसार डिजिटल प्लेटफर्ममा सामग्री प्रकाशन गर्दा प्रचलित कानुनको पालना अनिवार्य हुने र उल्लङ्घन गरेमा कानुनी कारबाही हुने स्पष्ट सन्देश दिइएको छ।