जनता टाइम्स

३० चैत्र २०८२, सोमबार ०९:०१

मन्त्रीहरूको सम्पत्ति विवरणमा सार्वजनिक भएकाे सुनप्रति गोकुल बाँस्कोटाको टिप्पणि : ‘देश त लंका बनिसकेछ’


काठमाडौं, चैत ३० । सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणमा करोडौँ रुपैयाँ बराबरको सुन सार्वजनिक भएपछि नेकपा (एमाले) नेता गोकुल बाँस्कोटाले व्यंग्यात्मक टिप्पणी गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत सरकारको सुशासन र समृद्धिको दाबीमाथि कटाक्ष गर्नुभएको हो।

सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले पछिल्ला दिनमा मिडिया र सामाजिक सञ्जालमा सम्पत्ति विवरणबारे व्यापक चर्चा भइरहेको उल्लेख गर्नुभएको छ। उहाँले व्यंग्य गर्दै मन्त्रीहरूको ‘खेतबारीमा पहेँलपुर तोरी फुलेको’ टिप्पणी गर्नुभएको छ।

‘आजका मिडिया र सामाजिक सञ्जाल हेर्दा रमाइलो भयो। देश लंका बनिसकेछ, डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पहेँलपुर तोरी फुलेछ। समृद्धि आएछ–सुशासन त्यहीँबाट आरम्भ भइहाल्छ,’ भन्दै उहाँले टिप्पणी गर्नुभएको छ।

उहाँले अर्को व्यंग्यात्मक प्रसंगमा ‘जहाँ कंगाल त्यहीँ चण्डाल’ भन्ने उखान उल्लेख गर्दै अहिलेको अवस्थाले त्यो धारणा हटेको संकेत गर्नुभएको छ। ‘म झन् खुसी, किनकि जहाँ कंगाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ,’ भन्दै उहाँले कटाक्ष गर्नुभएको छ।

बाँस्कोटाको यो अभिव्यक्ति सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण, त्यसको स्रोत र सुशासनमाथि उठिरहेका प्रश्नसँग जोडेर हेरिएको छ। पछिल्लो समय मन्त्रीहरूको सम्पत्ति विवरणमा उल्लेख भएको सुन तथा अन्य सम्पत्तिबारे सामाजिक सञ्जालमा व्यापक बहस भइरहेको छ। उहाँहरुकाे साे सम्पत्तिकाे स्राेत सार्वजनिक हुनु पर्ने माग उठेकाे छ ।