काठमाडौं, चैत ३० । वीरगञ्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडिको क्षेत्रमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। हत्या हुनेमा पर्साको कालिकामाई गाउँपालिका–१ मुडली निवासी २८ वर्षीय विकास चौरसिया रहेका छन्। उहाँ नेपाल प्रहरीका बहालवाला प्रहरी जवान हुनुहुन्थ्यो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार वीरगञ्ज–९ मुर्लीस्थित फिरोज मियाको घरमा एक व्यक्ति गम्भीर घाइते अवस्थामा रहेको सूचना पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। घटनास्थलमा चौरसियाको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको र अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा फेला पारिएको थियो। उहाँलाई तत्काल उपचारका लागि नारायणी अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक चौरसिया वीरगञ्जकै मुर्ली क्षेत्रमा डेरा गरी बस्दै आएको बुझिएको छ। उहाँ १० दिनको बिदा लिएर घर आएको अवस्थामा घटना भएको हो।
प्रहरीले सो घटनामा संलग्न भएको आशंकामा एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा रौतहटका २६ वर्षीय सन्तोष साह, उनकी पत्नी २४ वर्षीया सोनी साह, बाराका १९ वर्षीय विशाल साह र १९ वर्षीय भारतीय नागरिक कन्हैया कुमार रहेका छन्।
घटनाको कारण र विस्तृत प्रकृतिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। सोनी साह डेरामा पुगेको अवस्थामा ती प्रहरी जवाको महिलाका श्रीमान् सहितका केही व्यक्तिको सामूहिक कुटपिट तथा रड प्रहारबाट मृत्यु भएको बुझिएकाे छ । ती महिलाका पति वैदेशिक रोजगारीबाट केही दिनअघि मात्रै वीरगंज आएका थिए ।













प्रतिक्रिया दिनुहोस्