काठमाडौं, वैशाख १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बितेको वर्षले नेपालको राजनीतिमा नयाँ मोड ल्याएको उल्लेख गर्नुभएको छ।
नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उहाँले विशेषगरी युवापुस्ताको सक्रियता, चेतना र सहभागिताले राजनीतिलाई नयाँ दिशा दिएको बताउनुभएकाे छ । उहाँले सामाजिक सञ्जालदेखि सडकसम्म देखिएको युवाहरूको आवाज अब केवल विरोधमा मात्र सीमित नरही नेतृत्व र उत्तरदायित्वतर्फ उन्मुख भएको बताउनुभएको छ। बदलिँदो राजनीतिक परिवेशमा सरकारप्रति जनताको अपेक्षा अझ बढेको उल्लेख गर्दै उहाँले जनताले परिणाममुखी, पारदर्शी र जवाफदेही नेतृत्व चाहेको बताउनुभएको छ।
डा. कोइरालाले ‘काम गर्ने, देखिने र अनुभव हुने सरकार’ आजको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै सुशासन र विकासबीच सन्तुलन कायम गर्दै देशलाई समृद्धिको मार्गमा अगाडि बढाउनु सरकारको मुख्य दायित्व भएको धारणा राख्नुभएको छ।
शुभकामना सन्देशमा उहाँले लोकतन्त्रका लागि लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित नेपाली कांग्रेस आज पनि राष्ट्रिय राजनीतिको महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्नुभएको छ। बदलिँदो समयअनुसार पार्टीले आफूलाई रूपान्तरण गर्दै नयाँ पुस्तालाई समेटेर अघि बढ्नु अपरिहार्य बनेको उहाँको भनाइ छ।
उहाँले आफ्ना मूल्य, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै एकताबद्ध भएर अघि बढ्न सकेमा कांग्रेसले पुनः जनविश्वासलाई अझ मजबुत बनाउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ। साथै राष्ट्रिय मेलमिलाप, एकता र सहकार्यको मार्ग यही भएको पनि उहाँले उल्लेख गर्नुभएको छ।
सन्देशको अन्त्यमा उहाँले नयाँ वर्षले सबैमा सकारात्मक सोच, नवीन ऊर्जा र एकताको भावना ल्याओस् भन्ने कामना गर्दै साझा प्रयासबाट समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माण गर्ने दृढ संकल्पका साथ अघि बढ्न आग्रह गर्नुभएको छ।
‘यस नयाँ वर्षले तपाईं हामी सबैका सपना, आकांक्षा र लक्ष्यहरू पूरा गर्ने नयाँ अवसरहरू सिर्जना गरोस्,’ भन्दै उहाँले ‘जय नेपाल’ उल्लेख गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्