जनता टाइम्स

१ बैशाख २०८३, मंगलवार ०९:३२

रामेछापमा जलपर्यटनको नयाँ आकर्षण, तामाकोसीमा अब जेटबोटसँगै र्याफ्टिङ पनि


रामेछाप, वैशाख १ । रामेछापको सदरमुकाम मन्थली नजिक बग्ने तामाकोसी नदी अब जलपर्यटनको नयाँ रोमाञ्चक गन्तव्य बन्ने सङ्केत देखिएको छ। जेटबोटको रोमाञ्चक यात्रापछि अब तामाकोसी नदीमा र्याफ्टिङ पनि सुरु गरिएको छ, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई थप मनोरञ्जन र साहसिक अनुभव दिने अपेक्षा गरिएको छ।

तामाकोसी मरिण एड्भेञ्चार प्रालिले नयाँ वर्ष २०८३ को अवसर पारेर परीक्षणका रूपमा र्याफ्टिङ सेवा पनि सुरु गरेको हो। यसअघि एक वर्षदेखि परीक्षणकै रूपमा जेटबोट सञ्चालन गर्दै आएको कम्पनीले अब जलयात्राको दायरा विस्तार गर्दै नयाँ साहसिक गतिविधि थपेको जनाएको छ।

कम्पनीका सञ्चालक सागरहरि अधिकारीका अनुसार हाल जेटबोट सेवा मन्थलीको करमबोटदेखि मन्थली घाटको पुलसम्म सञ्चालन भइरहेको छ। छोटो दूरीमै यात्रुलाई तीव्र गतिसँगै नदीको छालामाथि रोमाञ्चक अनुभव दिलाइरहेको यो सेवा स्थानीय तथा बाहिरबाट आउने पर्यटकको रोजाइ बन्दै गएको उहाँले बताउनुभयो।

उहाँका अनुसार आगामी दिनमा यो सेवा अझ विस्तार गर्दै करमबोटदेखि खुर्कोटसम्म पुर्‍याउने योजना बनाइएको छ। त्यसका लागि नदीका केही जोखिमपूर्ण स्थानलाई सुरक्षित र व्यवस्थित बनाउने काम आवश्यक रहेको उहाँले जानकारी दिनुभयो। यस विषयमा स्थानीय तह र पानीजहाज कार्यालयसँग समन्वय तथा सहकार्य भइरहेको पनि उहाँले बताउनुभयाे ।

हाल जेटबोट सेवाका लागि छोटो, मध्यम र लामो दूरी गरी तीन प्रकारका प्याकेज तयार गरिएको छ। ती प्याकेजका लागि क्रमशः ३५०, ५०० र १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको कम्पनीले जनाएको छ।

त्यसैगरी र्याफ्टिङ सेवाका लागि पनि छोटो र लामो दुईवटा रुट तय गरिएको छ। लामो दूरीको यात्रा देवीटारबाट सुरु हुने र आधा दिनसम्म चल्नेछ, जसको शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको छ। छोटो दूरीको यात्रा भने हलेदेदेखि मन्थलीसम्म हुनेछ, जसका लागि १ हजार ५ सय रुपैयाँ शुल्क लाग्नेछ।

मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले हाल जेटबोट र र्याफ्टिङ दुवै सेवा परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँले परीक्षण सफल भएमा यसलाई थप व्यवस्थित, सुरक्षित र दीर्घकालीन रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो।

तामाकोसी नदीमा थपिएको यो नयाँ साहसिक सेवा रामेछापको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। नदीको प्राकृतिक सौन्दर्य, तीव्र जलप्रवाह र साहसिक खेलको संयोजनले अब तामाकोसीलाई मनोरञ्जन र रोमाञ्च खोज्ने पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने विश्वास गरिएको छ।