जनता टाइम्स

१ बैशाख २०८३, मंगलवार १४:१६

कांग्रेसकाे महाधिवेशन लक्षित एक महिने जरा अभियान आजदेखि, क्रियाशील सदस्यता अद्यावधिक सुरु 


काठमाडौं, वैशाख १ । नेपाली कांग्रेसले आजदेखि एक महिने ‘जरा अभियान’ सुरु गरेकाे छ। आगामी असोजमा तय गरिएको महाधिवेशनलाई लक्षित गर्दै पार्टीले क्रियाशील सदस्यता अद्यावधिक गर्ने उद्देश्यसहित अभियान सञ्चालन गर्न लागेको हो।

अभियानको औपचारिक सुरुआत पार्टीका सभापति गगन थापाले आज गर्नुभएकाे हाे ।सभापति थापाले आफ्नो वडा काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा क्रियाशील सदस्यता अद्यावधि गरी अभियान शुभारम्भ गर्नुभयाे।

पार्टीले महाधिवेशनको तयारीस्वरूप क्रियाशील सदस्यता अद्यावधिकलाई प्राथमिकतामा राखेको छ। यसका लागि प्रत्येक सदस्यले आफ्नो वडा तहमा पुगेर सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।

यस अभियानअन्तर्गत वडा तहमा पुगेर सदस्यता नवीकरण नगर्ने सदस्यले आगामी महाधिवेशनमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ। साथै, सदस्यता अद्यावधिक गरेपछि पार्टी विधानअनुसार सम्बन्धित वडा कार्यालयमा पुगेर शपथ लिनुपर्ने प्रावधानसमेत राखिएको छ।

पार्टीभित्र तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको असहमतिका बीच सभापति थापाले यो कार्यक्रम अघि बढाउन लाग्नुभएको हो। देउवा पक्षले भने उक्त कार्यक्रममा सहभागी नहुने संकेत दिएको छ।

थप निर्णयका लागि भोलि कार्यसम्पादन समितिको बैठक पनि बस्ने तय भएको छ। महामन्त्री प्रदीप पौडेलले पार्टीले क्रियाशील सदस्यता खारेज गर्न नभई अद्यावधिक गर्न लागेको स्पष्ट पार्नुभएकाे छ । उहाँका अनुसार विगतमा देखिएका त्रुटि हटाउन यसपटक प्राविधिक पक्षमा विशेष ध्यान दिँदै अद्यावधिक प्रक्रिया अघि बढाइएको हो। परिष्कृत प्रणालीमार्फत सदस्यता अद्यावधिक गर्दा यसअघि देखिएका समस्या र अन्योल हट्ने विश्वास पार्टी नेतृत्वले लिएको छ।