जनता टाइम्स

१ बैशाख २०८३, मंगलवार २०:२१

बिहारका मुख्यमन्त्री नीतीश कुमारले दिए राजीनामा, सम्राट चौधरी बुधबार शपथ लिने


काठमाडौं, वैशाख १ । नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारका मुख्यमन्त्री  नितिशकुमारले पदबाट राजीनामा दिनुभएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उहाँले मंगलबार राज्यपालसमक्ष राजीनामा बुझाउनुभएको हो ।

अप्रिल १० मा राज्यसभा सदस्यको शपथ लिनुभएका नीतीशले त्यसको चार दिनपछि मुख्यमन्त्री पदबाट बाहिरिने निर्णय गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमार्फत अब नयाँ सरकारले बिहारको कामकाज सम्हाल्ने र आफूले पूर्ण सहयोग तथा मार्गदर्शन दिने बताउनुभएको छ ।

नीतीश कुमार बिहारका सबैभन्दा लामो समय नेतृत्व गर्ने मुख्यमन्त्रीमध्ये एक हुनुहुन्छ । उहाँ पहिलो पटक २४ नोभेम्बर २००५ मा मुख्यमन्त्री बन्नुभएको थियो । सन् २०१४ मा उहाँले पद छाडेर जितनराम माझी मुख्यमन्त्री बन्नु भएको थियो । तर, एक वर्ष नबित्दै फेरि उहाँले सत्ता सम्हाल्नुभएको थियो ।

त्यसयता उहाँले विभिन्न राजनीतिक गठबन्धन परिवर्तन गर्दै लगातार सत्ता नेतृत्व गर्नुभएको थियो । सन् २०२५ को विधानसभा निर्वाचनपछि उहाँले १० औं कार्यकालका रूपमा पुनः मुख्यमन्त्रीको शपथ लिनुभएको थियो ।

करिब दुई दशकसम्म बिहारको नेतृत्व गर्नुभएका नीतीशको पार्टी जनता दल युनाइटेड सन् २००५ देखि राज्य सत्तामा रहँदै आएको थियो ।

अब बिहारमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सम्राट चाैधरी नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ । मंगलबार बसेको सत्ता गठबन्धन दलको बैठकले उहाँलाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेको जनाएको छ ।

सम्राट चौधरी बुधबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उहाँ बिहारमा भारतीय जनता पार्टीका तर्फबाट मुख्यमन्त्री बन्ने पहिलो नेता हुने बताइएको छ ।