जनता टाइम्स

१ बैशाख २०८३, मंगलवार २१:५६

काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरु, राति ८ देखि ११ बजेसम्म दुई मुख्य रुटमा साझा बस सञ्चालन


काठमाडौं, वैशाख १। काठमाडौउपत्यकामा आजदेखि रात्रिकालीन सार्वजनिक बस सेवा औपचारिक रूपमा सुरु भएको छ । काठमाडौँ महानगरपालिका र साझा यातायातको सहकार्यमा आजदेखि राति ८ बजेदेखि ११ बजेसम्म दुई मुख्य रुटमा बस सेवा सञ्चालनमा आएको हो ।

महानगरका अनुसार पहिलो चरणमा दुई प्रमुख रुटमा विद्युतिय बसहरू सञ्चालन गरिएका छन् । पूर्व–पश्चिम रुटअन्तर्गत बस सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भई सिनामंगल, तीनकुने, बानेश्वर, माइतीघर, सुन्धारा, त्रिपुरेश्वर, कालिमाटी, कलंकी हुँदै थानकोटसम्म पुग्नेछ ।

त्यसैगरी उत्तर–दक्षिण रुटमा बुढानीलकण्ठबाट बस सेवा सुरु भई महाराजगञ्ज, लाजिम्पाट, जमल, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, कुपन्डोल, पुल्चोक, जावलाखेल हुँदै लगनखेलसम्म सञ्चालन हुनेछ ।

महानगरका अनुसार बसहरू प्रत्येक २० मिनेटको अन्तरालमा निर्धारित बस स्टपहरूमा उपलब्ध हुनेछन् । यात्रु सुरक्षालाई प्राथमिकता दिँदै सबै बसमा सीसीटीभी जडान गरिएको छ भने महानगर प्रहरीले निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

रात्रिकालीन समयमा नियमित सार्वजनिक यातायात अभावका कारण ट्याक्सी वा निजी सवारीमा महँगो भाडा तिर्न बाध्य यात्रु, राति ड्युटी गर्ने कर्मचारी, अस्पताल जाने सेवाग्राही तथा विमानस्थल प्रयोग गर्ने यात्रुका लागि यो सेवा उपयोगी हुने अपेक्षा गरिएको महानगरले जनाएको छ ।

यो सेवा सुरु भएसँगै उपत्यकामा रातिको सार्वजनिक यातायातलाई थप व्यवस्थित, सुरक्षित र सहज बनाउने विश्वास गरिएको छ ।