काठमाडौं, वैशाख २ । पार्टीको समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा नेपाली कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कामाथि कारबाहीको तयारी गरेको छ। ‘कावा सभापति’कै हैसियतमा निरन्तर वक्तव्य जारी गर्नुभएपछि पार्टी नेतृत्व कारबाही प्रक्रिया अघि बढाउने तयारीमा लागेको हो।
सोही विषयमा छलफल गर्न आज बिहान ११ बजे केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ। उक्त बैठकपछि आजै दिउँसो २ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने तय भएको छ।
यसअघि पनि पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध खड्काले नेपाली कांग्रेसको लेटरप्याड प्रयोग गरी विज्ञप्ति जारी गर्नुभएको थियो। त्यसबेला पनि अनुशासन समितिले उहाँलाई सचेत गराउने निर्णय गरेको थियो।
नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापतिमा चयन गरे पनि शेरबहादुर देउवा पक्षले उक्त निर्णयलाई स्वीकार गरेको छैन।
खड्काले भने पार्टीको चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको कार्यवाहक सभापतिको हैसियतमा आफू कायम रहेको दाबी गर्दै आउनुभएको छ।













प्रतिक्रिया दिनुहोस्