जनता टाइम्स

२ बैशाख २०८३, बुधबार ०९:१५

‘अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध’ का सन्दर्भमा सरकारी धारणा प्रति एमाले नेता प्रदीप ज्ञवालीको आपत्ति 


काठमाडौं, वैशाख २ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले सरकारले भर्खरै तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ दस्ताबेजमा प्रयोग भएका कूटनीतिक शब्दावलीप्रति गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। उहाँले विशेष गरी बुँदा नं १४ अन्तर्गत ‘अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकमा उल्लेख गरिएको ‘नेपाललाई बफर स्टेटबाट भाइब्रेन्ट ब्रिजका रूपमा रूपान्तरण गर्ने’ तथा ‘सबैसँग सम दूरी र समनिकटताको नीति अवलम्बन गर्ने’ भन्ने अभिव्यक्तिप्रति आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो।

ज्ञवालीले अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा प्रयोग हुने प्रत्येक शब्दको विशिष्ट अर्थ र सन्दर्भ हुने उल्लेख गर्दै सरकारी दस्ताबेजमा यस्ता शब्दको प्रयोग गर्दा पर्याप्त सावधानी अपनाउनुपर्ने बताउनुभएको छ। उहाँका अनुसार नेपालले आफ्नो भूराजनीतिक अवस्थालाई कहिल्यै ‘बफर राज्य’ का रूपमा व्याख्या गरेको इतिहास छैन। साथै, नेपालका छिमेकी मित्र राष्ट्रहरूले समेत यस्तो शब्द प्रयोग नगरेको उहाँको भनाइ छ।

उहाँले छिमेकी राष्ट्रहरूबिच अनन्त द्वन्द्व वा स्थायी दुष्मनीको अवस्था नरहेको अवस्थामा ‘बफर स्टेट’ जस्तो शब्द प्रयोग गर्नु सान्दर्भिक नदेखिने धारणा राख्नुभएको छ।

त्यसै गरी, ‘समनिकटता’ र ‘समदूरी’ जस्ता शब्दप्रयोगबारे पनि ज्ञवालीले स्पष्ट टिप्पणी गर्नुभएको छ। उहाँले राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा सन्तुलन कायम गर्नु नै मुख्य विषय भएको उल्लेख गर्नुभयो। मुद्दा, साझेदारी र सन्दर्भअनुसार नेपालका सम्बन्धका आयाम फरक–फरक हुन सक्ने भएकाले सबै सम्बन्ध सधैँ एउटै मापन र आयतनमा नअट्ने उहाँको तर्क छ।

सरकारी नीतिगत तथा कूटनीतिक दस्ताबेजहरूमा भाषिक प्रयोग अत्यन्त संवेदनशील हुने भएकाले शब्द चयनमा थप गम्भीरता आवश्यक रहेको ज्ञवालीको जोड छ।