रामेछाप वैशाख २ । नयाँ वर्ष २०८३ को पहिलो दिन रामेछाप र दोलखाको सीमामा अवस्थित रमणीय पर्यटकीय गन्तव्य शैलुङमा आन्तरिक पर्यटकहरूको विशेष घुइँचो लागेको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा पर्यटकहरू शैलुङ पुगेका हुन्।
नयाँ वर्षको अवसर पारेर प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, सांस्कृतिक महत्त्व र मनोरम दृश्यावलोकनका लागि पर्यटकहरू बिहानैदेखि शैलुङतर्फ उक्लिएका थिए। हरियाली डाँडाकाँडा, खुला चाैर, मनमोहक हिमश्रृंखला र शान्त वातावरणले शैलुङलाई आन्तरिक पर्यटनको प्रमुख आकर्षण बनाउँदै लगेको स्थानीयहरू बताउँछन्। अझ शैलुङ आसपासमा फुलेका विभिन्न रंगका गुराँसले शैलुङलाई मनमाेहक बनाएकाे छ ।
पछिल्लो समय शैलुङ घुम्न जानेहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। विशेषगरी सडक पूर्वाधारमा सुधार भएसँगै पर्यटकको आगमन थप सहज भएको छ। अहिले रामेछाप र दोलखा दुवै तर्फबाट शैलुङसम्म पुग्ने सडक निर्माण भइसकेकाले यात्रुहरूलाई आवतजावत गर्न सहज भएको छ।
दुवै जिल्लातर्फ बसोबास तथा खानपानका लागि होटल तथा लजहरूको समेत राम्रो व्यवस्था रहेकाले नयाँ वर्ष, सार्वजनिक बिदा तथा विशेष अवसरमा शैलुङ पुग्नेहरूको संख्या बढिरहेको छ। स्थानीय व्यवसायीहरूका अनुसार यस वर्ष नयाँ वर्षको पहिलो दिन अघिल्ला वर्षहरूको तुलनामा बढी पर्यटक पुगेका छन्।
प्राकृतिक रमणीयताको हिसाबले शैलुङलाई प्रायः ‘धर्तीको स्वर्ग’ भनेर सम्बोधन गर्ने गरिन्छ। उच्च पहाडी भूभागमा फैलिएको यस क्षेत्रले सूर्योदय, सूर्यास्त र हिमाली दृश्यावलोकनका लागि विशेष पहिचान बनाएको छ। धार्मिक रूपमा पनि महत्त्वपूर्ण मानिने शैलुङमा वर्षभर आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गरेको छ। शैलुङ हिन्दु र बाैद्ध धर्मालम्बीहरुकाे संगमस्थल पनि हाे ।
नयाँ वर्षको पहिलो दिनको भीडले यस क्षेत्रको पर्यटन सम्भावना अझ उजागर गरेको छ। शैलुङलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा थप विकास गर्न राज्यको ध्यान आवश्यक रहेको छ ।


(फोटाे : दावासाङ्बु शेर्पा)













प्रतिक्रिया दिनुहोस्