जनता टाइम्स

२ बैशाख २०८३, बुधबार १२:५१

मन्त्रिपरिषद् बैठक बस्दै, सरकारकाे राष्ट्रिय प्रतिबद्धता मस्याैदालाई अघि बढाउने निर्णय हुने


काठमाडौं, वैशाख २ । प्रधानमन्त्री बालेन्द्र साह बालेनले आज मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक अपराह्न ४:३० बजेका लागि तय गरिएको हाे ।

प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने जनाइएको छ। विशेषगरी हिजो सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा दस्ताबेजसँग सम्बन्धित विषयमा बैठकमा निर्णय हुने बताइएकाे छ ।

सरकारले मंगलबार सार्वजनिक गरेको उक्त मस्यौदामा संसद्मा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय दलका घोषणापत्र, प्रतिबद्धता पत्र तथा नीतिगत एजेन्डालाई समेटिएको बताइएको छ। यसलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र सुधार एजेन्डासँग जोड्ने तयारी सरकारको रहेको छ।

स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय प्रतिबद्धता मस्यौदालाई अघि बढाउने प्रक्रिया, कार्यान्वयन संयन्त्र तथा केही प्रशासनिक निर्णयसमेत हुन सक्ने सम्भावना छ।

सरकारले पछिल्लो समय शासन सुधार, कूटनीतिक सम्बन्ध र विकास प्राथमिकतासँग सम्बन्धित विषयमा सक्रियता बढाइरहेका बेला आजको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।