जनता टाइम्स

२ बैशाख २०८३, बुधबार २०:२५

नेपाली कांग्रेसद्वारा पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण माग, खड्काद्वारा जवाफ नदिने अडान


काठमाडौं, वैशाख २ । नेपाली कांग्रेसले पार्टी नेता पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण मागेको छ। आज बसेको पार्टीको अनुशासन समितिको बैठकले खड्कामाथि कारबाही प्रक्रिया अघि बढाउँदै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

खड्काले नेपाली कांग्रेसको लेटरप्याड प्रयोग गर्दै आफूलाई कार्यवाहक सभापतिको हैसियतमा प्रस्तुत गरी विज्ञप्ति जारी गर्नुभएको भन्दै अनुशासन समितिले कारबाही प्रक्रिया थालेको हो। यसअघि पनि यस्तै प्रकृतिको विज्ञप्ति जारी गर्दा उहाँलाई सचेत गराइएको कांग्रेसले जनाएको छ।

अनुशासन समितिका अध्यक्ष तारामान गुरुङले खड्काले पार्टीमा विद्यमान नभएको जिम्मेवारी दाबी गर्दै अनधिकृत वक्तव्य सार्वजनिक गरेपछि स्पष्टीकरण सोधिएको बताउनुभयो। उहाँका अनुसार यसअघि सचेत गराउँदा समेत अटेर गर्दै नक्कली लेटरप्याड प्रयोग गरी पार्टी विधानविपरीत गतिविधि गरिएको निष्कर्ष समितिले निकालेको छ।

यता खड्काले भने पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने अडान लिनुभएको छ। उहाँले गगन थापा नेतृत्वको कार्यसमिति नै अवैध रहेको दाबी गर्दै उक्त समितिबाट आएको स्पष्टीकरण पत्रलाई निरर्थक भएको बताउनुभएको छ।

खड्काले आफू नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको कार्यवाहक सभापति भएको दाबी दोहोर्‍याउँदै फागुन २१ मा सम्पन्न विशेष महाधिवेशन तथा त्यसबाट निर्वाचित कार्यसमिति र संरचनाहरू असंवैधानिक रहेको बताउनुभएको छ। सोही कारण उक्त समितिले काटेको पत्रको जवाफ नदिने उहाँले स्पष्ट पार्नुभएको छ।

पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै खड्काले अन्तिम न्याय अदालतबाट हुने बताउनुभयो। अदालतबाट आउने निर्णय सबै पक्षले मान्नुपर्ने भन्दै उहाँले सोही निर्णयको आधारमा नेपाली कांग्रेस अगाडि बढ्ने स्पष्ट पार्नुभएको छ।