जनता टाइम्स

२ बैशाख २०८३, बुधबार २१:५२

नियोजित तथा प्रायोजित रूपमा पार्टीलाई विवादित र कमजोर बनाउने उद्देश्यले भइरहेका प्रचारबाजीबाट प्रभावित नहुनोस् : शंकर पोखरेल  


काठमाडौं, वैशाख २ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आम निर्वाचन २०८२ को परिणामपछि पार्टी समीक्षा प्रक्रियामा प्रवेश गरेको जनाउँदै सम्पूर्ण पार्टी पंक्तिलाई प्रचारबाजीबाट प्रभावित नहुन अपिल गर्नुभएको छ।

उहाँले पार्टी अहिले निर्वाचनमा बेहोर्नुपरेको पराजयपछि समीक्षाको चरणमा रहेको बताउँदै निर्वाचन समीक्षाको काम वडा, पालिका र जिल्ला तहमा सञ्चालन भइरहेको जानकारी दिनुभएको छ ।  प्रदेशबाट समीक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रीय सचिवालयका तर्फबाट समग्र प्रतिवेदन तयार गरिने उहाँले उल्लेख गर्नुभएको छ ।

महासचिव पोखरेलले समीक्षा प्रक्रियालाई थप व्यापक बनाउन केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावलीमार्फत अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझावसमेत संकलन गरिरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार ‘यी सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समीक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्नेछ।’

उहाँले निर्वाचन समीक्षाका आधारमा पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिने स्पष्ट पार्दै कार्यकर्तालाई एकताबद्ध रहन आग्रह गर्नुभएको छ। ‘ यस अवधिमा नियोजित तथा प्रायोजित रूपमा पार्टीलाई विवादित र कमजोर बनाउने उद्देश्यले भइरहेका प्रचारबाजीबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अनुरोध छ’, पोखरेलले भन्नुभएको छ।