जनता टाइम्स

३ बैशाख २०८३, बिहीबार ०९:३४

दहेज मुक्त नलेखिएकाे विवाहमा सहभागि हुन्न : उपसभामुख रुविकुमारी ठाकुर


काठमाडौं, वैशाख ३ । उपसभामुख रुविकुमारी ठाकुरले विवाह निमन्त्रणापत्रमै ‘दहेज मुक्त विवाह’ भन्ने स्पष्ट सन्देश समावेश गर्न आग्रह गर्दै दाइजो प्रथाविरुद्ध दृढ रूपमा उभिन सबैलाई अपिल गर्नुभएको छ।

उहाँले हालै आफूले धेरै विवाहका निमन्त्रणापत्रहरू प्राप्त गरिरहेको उल्लेख गर्दै तीमध्ये अधिकांश कार्डमा ‘दहेज मुक्त विवाह’ भन्ने स्पष्ट उल्लेख नदेखिएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ। उहाँका अनुसार यसले नेपाली समाज अझै पनि दाइजो जस्तो गम्भीर सामाजिक कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको सङ्केत गर्छ।

उपसभामुख ठाकुरले दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास भएको बताउनुभएको छ। उहाँले यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउने धारणा राख्नुभएको छ। ‘यदि हामी साँच्चिकै समाज परिवर्तनको कुरा गर्छौँ, देश विकासको सपना देख्छौँ र सामाजिक कुरीतिका विरुद्ध उभिन चाहन्छौँ भने परिवर्तनको सुरुवात हामी आफैँबाट गर्नुपर्छ,’ उहाँले भन्नुभएको छ, ‘व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठुलो सामाजिक रूपान्तरण सम्भव हुन्छ।’

उहाँले दाइजो लेनदेन भएको विवाहमा आफू सहभागी हुन असमर्थ रहने स्पष्ट जानकारी समेत गराउनुभएको छ। साथै, दहेजमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गर्न सबैमा आग्रह गर्नुभएको छ।

उपसभामुख ठाकुरले विवाह निमन्त्रणापत्रमा ‘दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’ भन्ने स्पष्ट सन्देश समावेश गरेर पठाउन हार्दिक अनुरोध गर्नुभएको छ।

उहाँले सबैलाई मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस पाइला चाल्न आह्वान गर्दै सामाजिक रूपान्तरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ।